शाहीकालका उपाध्यक्ष तुलसी गिरीलाई प्रधानमन्त्रीले दिन खोजेको उपचार खर्च गगन थापाले रोके
भदौ २५ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्त्रिपरिषद बैठकबाट बिहीबार पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको उपचार खर्च प्रस्ताव रोकेका छन् । भारतको बैंग्लोरमा उपचार गराएका पुर्वप्रधानमन्त्री डा. गिरीको उपचार खर्च बेहोर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा आउनासाथ स्वास्थ्यमन्त्री थापाले कडा रुपमा विरोध गरेका थिए । प्रधानमन्त्री प्रचण्डले डा. गिरी विशिष्ट व्यक्ति हो भन्दै उनको मागअनुसार खर्च रकम स्वीकृत गर्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले अस्वीकार गरेका थिए ।
मन्त्री थापाले प्रश्न गरेका थिए, ‘यो मुलुकमा को विशिष्ट हो /होइन चिन्ने कसरी ? यो देशको नेतृत्वले आम नेपालीलाई नै किन विशिष्टको दर्जा दिन सक्दैन ? डा. गिरी विशिष्ट हो, होइन थाहा पाउने कसरी ?’
थापाको भनाइ उदधृत गर्दै एक मन्त्रीले भने, ‘प्रधानमन्त्रीजी, तपाई पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका प्रमुख नेताहरुको स्वास्थ्य उपचार आगामीदिनमा स्वदेशमै हुनु पर्छ । ’ अन्नपूर्ण पोस्टबाट