महन्थकी छोरीको आँखामा खोर्सानीको धुलो छरेर...
भदौ २४ तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको शुक्रबार साझ चोरीको प्रयास भएको छ ।
सानोठिमीस्थित ठाकुरको घरमा ठाकुरकी छोरी डा. मिनाक्षी ठाकुर मात्र थिइन । त्यसबेला ठाकुर भने प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसहितका नेताहरुसँग बैठकमा थिए । पारिवारिक श्रोतका अनुसार साँझपख तीन जनाको समूह ठाकुरलाई भेट्नु भन्दै घरमा प्रवेश गरेका थिए । चोरहरुको समूहले मिनाक्षीको आँखामा खोर्सनीको धुलो छरेका छन् । त्यसक्रममा उनी लडेर घाइते भएकी छन् र टाउकोमा चोट लागेको छ ।
चोरहरुको समूहले ब्रिफसेस चोरी गर्ने क्रममा केहीबेर खोसाखोस भएको थियो । र, मिनाक्षीको हातमा चोट लागेको बताइएको छ । यो खबर बालुवाटारमा रहेका तमलोपा अध्यक्ष ठाकुरका सहयोगी सकेन्द्र मिश्र कहाँ पुग्यो । उनले बैठक कक्षमै प्रवेश गरेर घटनाबारे जानकारी गराएपछि प्रहरी प्रमुखलाई खबर भएको थियो ।