समाज

मुहान बचाउन पोखरी निर्माण

मुहान बचाउन पोखरी निर्माण

tal भदौ २६ । जिल्लामा पानीको मुहान संरक्षण गर्न पोखरी निर्माण अभियान सुरु गरिएको छ । दिनानुदिन पानीका मुहान सुक्नेक्रम बढेपछि जिल्ला वन कार्यालय खोटाङले पोखरी निर्माण अभियान सुरु गरेको हो ।  अभियानका क्रममा कार्यालयले रुपाकोट, नेर्पा र खार्मीमा तीन तथा निर्मलीडाँडाको साप्सुढाप क्षेत्रमा तीनवटा पोखरी निर्माण गरिसकेको छ । जलवायु परिवर्तनका कारण जिल्लामा पानीका मुहान सुक्नेक्रम बढेपछि पोखरी निर्माण अभियान सञ्चालन गरिएको वन कार्यालयले जनाएको छ ।

वर्षात्को समयमा आकासबाट पर्ने पानी जमाउन सजिलो हुने भएकाले खाली जग्गामा पोखरी निर्माण गरिएको जिल्ला वन अधिकृत लोकराज नेपालले बताए ।  पोखरी निर्माण अभियानमा वन समूहका उपभोक्ताले श्रमदानसमेत गरेको लाली रुपाकोट सामुदायिक वन समूहका अध्यक्ष जयप्रसाद राईले जानकारी दिए । पोखरी निर्माणका लागि कार्यालयका तर्फबाट यस वर्ष रु छ लाख खर्च गरिएको छ । रुपाकोट क्षेत्रमा पर्ने सिद्धथान सामुदायिक वन क्षेत्रमा ५० मिटर लम्बाइ, पाँच मिटर चौडाइ र पाँच मिटर गहिराइ भएको पोखरी निर्माण गरिएको छ ।

जलवायु परिवर्तनको असरलाई कम गर्न समुदाय आफैँले पनि सम्भावित ठाउँमा पोखरी निर्माण गर्नुपर्ने अधिकृत नेपालको सुझाव छ । जिल्लामा पछिल्लो समय पानीका मुहान सुक्नेक्रम बढेसँगै खानेपानीको समस्या बढ्दै गएको छ ।

Tal Nirman

विशेष