प्रवास

नेपाली जनसम्पर्क समिति अमेरिकामा विवाद चुलियो

नेपाली जनसम्पर्क समिति अमेरिकामा विवाद चुलियो

nejasa

भदौ २९ । नेपाली जनसम्पर्क समिति मेरिल्याण्ड अमेरिकाले १०२ औं विपी जयन्ती एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

सो अन्तरक्रियात्मक कार्यक्रमका वक्ताहरुले विपीको आर्दशलाई अहिलको पुस्ताले आत्मसात गर्न नसकेको बताएका छन् । नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्वसंयोजक विष्णु सुवेदीले विपीको नाम अमेरिकामै बद्नाम गरिएको आरोप लगाएका छन् । उनले अहिलेको नेपाली जनसम्पर्क समितिमा रहेको नेतृत्वले विपीको नाम बद्नाम गरेकोले हालको नेतृत्वले तुरुन्तै पद छाड्नु पर्ने बताए । कार्यक्रमका विशेष अतिथि अमेरिकाका लागि नेपालका अवैतनिक महावाणिज्यदूत प्रमेराजा महतले विपी कोइराला कांग्रेसका मात्रै नभएर सबैका नेता भएको धारणा राखे ।

कार्यक्रममा नेपाल जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्वाङले विपीले देखाएको बाटोमा अहिले नेपालका धेरै राजनीतिक दलहरु हिँडन थालेको दाबी गरे । उनले नेपालको संविधान कार्यान्वयनमा जानु पर्ने उल्लेख गरे । आर्थिक हिनामनिसम्बन्धी एक प्रश्नको जवाफ दिँदै महासचिव नेम्वाङले संगठनको हितविपरीत आफूले एक पैसा पनि हिनामिन नगरेको प्रष्टिकरण दिएका थिए ।

कार्यक्रममा समितिका केन्द्रीय सदस्य ज्ञानेन्द्रराज कार्कीले नेपाली जनसम्पर्क समिति अमेरिकामा देखिएको विवादलाई पार्टीले हस्तक्षेप गर्नुपर्ने धारणा राखे ।

प्रवासी नेपालीहरुलाई संगठीत गर्न विपी कोइरालाले शुरुमा नेपाली जनसम्पर्क समिति गठन गरेका कारण उनलाई कहिले पनि प्रवासी नेपालीले विर्सन नसक्ने एनआरएन अमेरिकाका उपाध्यक्ष रविना थापाले बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता मनोहर पराजुलीले संगठनमा देखिएको गुण र दोषको जिम्मेवारी नेतृत्वले लिनु पर्ने बताए । उनले एउटै प्रकृतिको विवादमा एउटै समितिमा रहेका केही नेता जिम्मेवार हुने, कोही नहुने भन्न नमिल्ने बताए । उनले यो विषयमा पार्टीले गम्भीरतापूर्वक कदम चाल्नु पर्ने धारणा राखेका छन् ।

कांग्रेस नेतृ चित्रा केसीले कमजोर नेतृत्वका कारण संगठन कमजोर बन्न पुगेको आरोप लगाइन् । अर्का युवा नेता तरूण पोडेलले संस्थामा देखिएको हरेक समस्याको जिम्मेवारी नैतिक रूपमा सभापतिले लिनुपर्ने धारणा राखे । कांग्रेस नेता कृष्णबहादुर चुनाराले पनि जनसम्पर्क समितिको विवादमा पार्टीले हस्तक्षेप गर्नु पर्ने विचार राखे ।

अन्य वक्ताहरूमा नेजसका पुराना नेता नारायण थापा , भुवनसरी बन्जाडे, एकता समाज मेरिल्याण्ड शाखाको सभापति, प्रवासी मन्च मेरील्याण्ड च्याप्टरका सभापति लगायतका थिए । मेरील्याण्ड च्याप्टरका सभापति राजेन्द्र सेन्च्युरीको अध्यक्षतामा संम्पन्न उक्त कार्यक्रममा नेजसका पूर्वकेन्द्रीय सदस्य राजन त्रिपाठी, तनँहु समाजका अध्यक्ष कृष्ण जिवी पन्त , अनन्त सुवेदी, टक रूलालीसमेतको उपस्थिती रहेको कार्यक्रमको संन्चालन भने मेरील्याण्ड च्याप्टरका महासचिव नेत्र केसीले गरेका थिए ।

विशेष