प्रचण्डजी सिंगडा खानुहोला, ओलीले जस्तो चीनसँगको इन्धन खरिद सम्झौता दिल्लीमा नखानुहोला
पूर्वप्रधानमन्त्री केपी ओलीले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई तल्लो स्तरमा टिप्पणी गरे, ‘किन गएको भारत, सिंगडा खान ?’ यो कुनै युवा संघको तल्लो तहको कार्यकर्ताको टिप्पणी होइन । प्रधानमन्त्री भइसकेको नेकपा एमालेका अध्यक्षको विश्लेषण हो । तसर्थ, प्रधानमन्त्री किन भारत जान्छन् वा उनी आफैं किन गएका थिए भन्ने खोजी गर्न आवश्यक छ ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अवस्य हतारो र संशययुक्त छ । यसका बारेमा गम्भीर विश्लेषण र समीक्षा हुंने नै छ । तर, ओलीले भनेजस्तो सिंगडा खानका लागि मात्र नहोला । यहाँ, ओली किन भारत गएका थिए र के खाए भन्ने विवेचना गरिने छ ।
चीन कि भारत कहाँ पहिले भन्ने दोसाँधका बीचमा ओली भारत हानिएका थिए । उनी पहिले चीन गएको भए स्वभाविकरुपमा चीनसँग इन्धन खरिद सम्झौता हुंने थियो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले इन्धन खरिद सम्झौता हुंने मिति र तेल आउने समयका बारेमा सार्वजनिकरुपमा बोलिसकेका थिए । अफसोच, ओली पहिले भारत गए । त्यहाँबाट फर्केपछि चीन हानिए । अनेकन सम्झौता भएपनि सबै नेपालीले चाहेको र पहिले नै सार्वजनिक भइसकेको इन्धन खरिद सम्झौता भएन । मतलब, सो सम्झौता ओलीले दिल्लीमा खाइसकेका थिए ।
ओलीले पारवहनलगायतका सम्झौता चीनसँग गरे । त्यसले ओलीको राष्ट्रवादी रुप आकाशियो । तर, यि सैद्धान्तिक सम्झौता हुँदै गर्दा तत्काल तेल आयात गर्ने सम्झौता सूचीबाट निकालिसकिएको थियो ।
पारवहन र रेलमार्ग लगायतका सम्झौता कार्यान्यवन हुन बर्षौ लाग्नेछ । अझ भनौँ कार्यान्वयनमै नआउँन पनि सक्छ । तर, इन्धन खरिद सम्झौता गरेको भए यतिन्जेल तेल आइसक्थ्यो । ओलीले चीनबाट तेल ल्याउने सम्झौता खारेज गर्ने भद्र सहमति दिल्लीमा गरेर बेइजिङ हानिएको रहस्य विस्तारै खुल्दैछ । सोही बखत उपप्रधानमन्त्री रहेका नेकपा एमालेका उपाध्यक्ष भीम रावलका शब्दमा तेल ल्याउने सम्झौता गर्न समय पुगेन । चीनबाट फर्केको ४ महिनासम्म सिंहदरबारमै रहेपनि समय नपाउनु ओलीको दोष की जनताको ?
ओलीले प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाउँदै महाकालीको प्रसंग पनि कोट्टाए । महाकालीको पानी आधा आधा हुने गरी परियोजनाको निर्माणका बारेमा उनले लिपिवद्ध सुझाव दिए । महाकालीबाट बिजुली निकालेर स्याटल्याइटबाट बेच्ने उद्घोष गर्दै महाकाली सन्धी गरेको २२ बर्ष भयो । ओलीजी, महाकालीबाट निकालियो बिजुली कता बेचियो । ‘नदी नै बेचेपछि के को बिजुली बेच्नु ?’ ओलीका महत्वपूर्ण सहकर्मी बामदेब गौतमले उतिबेला त्यसै भनेका होइन रहेछन् ।
एमालेका उपाध्यक्ष भीम रावलका शब्द सापट लिएर भन्ने हो भने उपल्लो कर्णाली सम्झौतामा राष्ट्रघात भएको छ । सो सच्याउन उनले २३ पृष्ठको सुझावपत्र पनि बुझाएका रहेछन् । तर, सम्झौता भइछाड्यो । राष्ट्रघाती सम्झौता गर्दा २०७१ असोज ३ गते साक्षी किनारा बस्ने बाध्यता ओलीलाई कहाँबाट आइलाग्यो ? तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र भारतीय गृहमन्त्री राजनाथ सिंहको लहरैमा राष्ट्रवादी ओली नै बसेका हुन् र ? आँखा तिल्मिलाएको हो कि ? तर होइन रहेछ । ओली नै उपस्थित रहेको तस्बिरले प्रष्ट गर्दछ । तर, रावल सार्वजनिक अन्तरवार्तामा दाबी गर्दैछन्, ‘सो सम्झौतामा हस्ताक्षर गर्दा ओली उपस्थित थिएनन् ।’
भारतीय दुतावासले समानान्तर सरकार चलाइरहेको छ नेपालमा । योजना आयोगमा भन्दा भारतीय दुतावासमा बढी प्रस्ताव पर्ने गरेका छन् । गाऊँदेखिका नेता र अगुवालाई भारत भारत परस्त बनाउँन भारतले लगानी गर्दै आएको छ । ओली प्रधानमन्त्री भएकै बेला अर्घाखाँचीमा सरकारी विद्यालयका विद्यार्थीले भारतको भजन गाए । ओली चुक्क बोलेनन् । दुतावासले स्वविवेकले नेपालमा मनलाग्दी खुद्रे लगानी गरेको छ । ओली सरकारका उपप्रधानमन्त्री चित्रबहादुर केसीका शब्दमा भारतको बुटी खाएकाले नेपालको रक्ष ागर्न सक्दैनन्, भारतीय दुतावासको लगानी देश टुक्राउनलाई हो ।
‘यो रोक्नु पर्दैन ?’ एउटी किशोरीले ओलीलाई प्रधानमन्त्रीबाट बर्हिमन भएपछिको पहिलो पत्रकार सम्मेलनमा सोधेकी थिइन् । उनले रोक्नुपर्ने विषय भएपनि प्रथामिकतामा नपरेको भनेर टारिदिए । तर, दुतावासबाट सबैभन्दा बढी लिने संस्थामा ओली संरक्षक रहेको मदन भण्डारी फाउण्डेशन पर्दछ । मदनजस्ता आदरणीय नेताको नाममा समेत दुतावासको पैसा ल्याउन पछि नपर्ने ओलीको राष्ट्रवाद कस्तो ? गम्भीर प्रश्नमा ओलीको हल्काफुल्का उत्तर थियो, ‘कहाँ मेरो कार्यकालको कुरा कहाँ मदन भण्डारी फाउण्डेशनको प्रसंग । तपाईको प्रश्न गम्भीर हो, त्यता ध्यान दिन भ्याइएन ।’
एमाले निकटका बुद्धिजिवीसँगको भेटमा ओलीले भनेछन्, ‘म पहिलेदेखि कै राष्ट्रवादी हो । महाकाली सम्झौताको पक्षमा म पहिला थिइनँ । तर, जीबनमरणको स्थितिमा मैले सम्झौताको पक्ष लिएँ ।’ ओलीले मदन भण्डारीको हत्याको प्रसंगपनि कोट्टाएको सो भेटमा सहभागी एक बिद्धानले अफ द रेकर्डमा बताएका छन् । ‘अहिले मलाई मर्न के को डर ?’ उनले हौस्सिदै भनेका थिए, ‘म झुक्दिनँ ।’ जीबनभर भारतसँग झुकेको र उत्तरार्धमा चलाखीपूर्ण तबरले नझुकेको झैं गर्ने ओलीको राष्ट्रवाद अकवरी होला ? यदि उनी नझुकेकै हुन्थे भने उनले चीनसँग इन्धन खरिद सम्झौता गरिछाड्थे ।
खाशमा नाकावन्दी सुशील कोइराला नेतृत्वको सरकार विरुद्ध लगाइएको थियो । भारतमा जेल पर्दा पाएको चुटाइका कारण सुशीलसँग भारतविरोधी मनोविज्ञान हावी थियो । सुशीललाई कमजोर बनाउन र शेरबहादुर देउवालाई पार्टी सत्ता सुम्पने दाउँपेचमा ओली राष्ट्रवादी बनाइए । ओली प्रधानमन्त्री भएपछि भारतले नाकावन्दी सहज बनाउँदै लग्यो, जबकी पहिले कडा गरिएको थियो । उनी प्रधानमन्त्री भएपछिको केही समयमा जीबन सामन्यप्राय बनेको थियो । उपेन्द्र यादवलगायतका नेताहरुको अनिच्छा विपरित नाका खोलियो । नाका खोल्नका लागि भारतका सबैभन्दा प्रिय पात्र राजेन्द्र महतोलाई माध्यम बनाइयो । दिल्लीमा उपचार गराइरहेका महतो सिंधै बालुवाटार प्रवेश गर्ने परिस्थिति भारतको योजना बाहेक के हुन सक्छ ?
देश आन्तरिक एकताले बलियो बन्छ । असन्तुष्ट नागरिकलाई निषेध गर्दा देश विखण्डनको दिशामा जान्छ । ओलीले असन्तुष्टलाई चिढाउने गतिविधि गरेकी सन्तुष्ट बनाउने ? समीक्षा आवश्यक छ । भारतीय प्रभावमा नपरेको थारु समुदायमा समेत भारत खेल्ने परिस्थिति बनाइएको छ । कालान्तरमा ओलीका कदम कसका लागि उपयोगी बन्दैछन् ? हेक्का राख्नै पर्छ । कर्णाली बचाउँने नाममा कैलाली र बर्दियालाई अलग गर्ने तर माथिल्लो कर्णाली परियोजना भारतलाई सुम्पने ओली आलोकको रहस्य के ?
ओलीमा राष्ट्रवादको वहश केन्द्रीकरण गरिंदा कयौँ जायज मुद्धाहरु ओझेल परेका छन् । उनलाई सत्तामा वस्दा अन्तिम घडीसम्म कस्ले साथ दिए ? त्यत्ति हेक्का राखे पुग्छ । कमल थापा अन्तिमसम्म सँगै रहे । थापा त्यस्ता नेता हुन जो मन्त्रिपरिषद्मा दोस्रो बरियतामा रहँदा भारतीय दुतावासलाई स्वविवेकले ३ करोडसम्म लगानी गर्ने छुट दिइएको थियो । उनलाई अन्तिम समयसम्म साथ दिने अर्का नेता विजयकुमार गच्छदार थिए । गच्छेदार त्यस्ता नेता हुन् जसले दलहरुका बीचमा पहिलो संविधानसभाको अन्तिम समयमा भएको भद्र सहमति हस्ताक्षर गर्नुपूर्व भारतीय दुतावास पु¥याएका थिए । त्यतिवेला सो कागज दुतावास नपुगेको भए परिस्थिति अर्कै हुन सक्थ्यो । साथ दिने केही राष्ट्रवादी पनि थिए । ति मध्येका एक चित्रबहादुर केसीकै शब्दमा भन्ने हो केसीले माथिल्लो कर्णाली सम्झौता खारेज गर्न मन्त्रिपरिषद्मा गरेको प्रस्ताव ओलीले अस्विकार गरेका थिए ।
ओलीले भने, प्रचण्ड सिंगडा खान भारत गएका हुंन । लामो समय भारतमा भुमिगत बसेका प्रचण्डलाई सिंगडा मनपनि पर्छ होला । प्रचण्डले जति नै सिंगडा खाउँन नेपालीलाई चिन्ता छैन । ओलीले जस्तो चीनसँगको इन्धन खरिद सम्झौता नखाउँन । प्रचण्ड पक्कै चीन जानेछन् । त्यतिबेला चीनसँग इन्धन खरिद गरुन् । नत्र हामी नेपालीलाई जुन जोगी आएपनि कानै चिरेका सिद्ध हुनेछन् ।
टिप्पणीः बिनोश शर्मा
prachanda india visit