सोह्रश्राद्ध शुरु
असोज १ । हिन्दू परम्पराअनुसार शनिबारदेखि पितृपक्ष अर्थात् सोह्रश्राद्ध सुरु भएको छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म कायम रहने पितृपक्षमा आफ्ना दिवंगत पितृको तिथिमा तर्पण, सिदादान तथा पिण्डदान गरिन्छ । सोह्र वटा तिथिमा पितृप्रति श्रद्धासाथ पितृकार्य गरिने हुनाले नेपाली समाजमा सोह्रश्राद्धको नामले परिचित छ ।
चाड पर्व, यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुभन्दा पहिले आफ्ना पितृको श्रद्धासाथ सम्झना गर्ने वैदिक परम्परा छ । बडादसैँ र तिहारजस्ता महान् चाडका अगाडि पर्ने सोह्रश्राद्धले सन्ततिलाई आफ्ना पितृप्रतिको दायित्वबोध गराउनुका साथै पितृऋणबाट मुक्त गराएर चित्तशुद्धि गराउँछ भन्ने मान्यता छ । शास्त्रीय परम्पराअनुसार आफ्ना पितृका नाममा सोह्रश्राद्ध भर पार्वण श्राद्ध, तीर्थ श्राद्ध तथा ब्रह्मकपाली श्राद्ध आदि गर्ने प्रचलन छ । सोह्रश्राद्धमै बितेकाको सम्झनामा भने ‘एक पार्वण’ श्राद्ध गरिन्छ ।