’बैंस हुन्जेल पो बैंस देखाउने, जवानी निख्रिएको दिन के देखाउने ? ’

असाेज ०२ । ’बैंस हुन्जेल पो बैंस देखाउने, जवानी निख्रिएको दिन के देखाउने ? ’, गायिका दीपा पन्तले भनिन्, ’कलाकारले देखाउने कला नै हो, अझ गायकगायिकाले देखाउने त गला नै हो, अंग होइन ।’
पछिल्लो समय नेपाली कलाकारितामा ’ग्ल्यामर’का नाममा बढ्दै गएको नग्नता र छाडापनप्रति निकै उदास देखिएकी उनले भनिन्, ’आफू बिक्ने नाममा इन्टस्ट्री नै बदनाम बनाउने बोलवाला छ ।’
झट्ट हेर्दा बलिउड गायिका सञ्जीवनीजस्तै देखिने दीपा जति सादा लाग्छिन् उनको स्वरमा त्यत्तिकै मधुरता पाइन्छ । उनको ’दिलको बदला दिल दिएँ...’ धेरैको ओठमा अहिले पनि झुन्डिएको गीत हो । नुवाकोटको थानसिङमा बुबा विष्णुकुमार र आमा भवानी पन्तको जेठी छोरीका रूपमा जन्मिएकी दीपाले जनज्ञान माविबाट एसएलसी गरिन् । हाल त्रिचन्द्रबाट समाजशास्त्रमा स्नातकोत्तर गरिरहेकी उनी संगीत शिक्षा पनि लिइरहेकी छन् । पेसाले शिक्षिका दीपा आफूभित्र क्षमता भए एक न एक दिन उचाइमा पुगिने विश्वास गर्छिन् ।
विद्यालयतहदेखि नै हरेक कार्यक्रम र पढाइमा कहिल्यै दोस्रो हुन नजानेकी उनी अब्बल विद्यार्थी र प्रतियोगी हुन् । सानैदेखि नाच्नुपर्ने उनी गाउँ, टोल र विद्यालयका हरेक कार्यक्रममा सहभागी हुन्थिन् । ’प्रथम पुरस्कार त मेरै ठेक्काजस्तो थियो’, उनले पुराना दिन सम्झँदै भनिन् । परिवार नै सादगी सोचको भएकाले होला भन्न रुचाउने उनले भनिन्, ’नाच्नभन्दा मलाई गायन ठीक लाग्यो, एसएलसीपछि मैले श्रुती संगीत विद्यालयमा गायन कला अध्ययन थालेँ ।’
उनले आफ्नै संगीत, शब्द र आवाजमा २०६७ सालमा ’रियालिटी’ एल्बम नै निकालिन् । जसमा ६ वटा गीत समेटिएका थिए । त्यसभित्रको ’तिमीलाई म कति माया गर्छु ...’ चर्चित भयो ।
रहरले मात्रै पुग्दैन भन्ने बुझेकी उनले त्यसपछि गान्धर्व सिकिन् । सुगम संगीतमा बढी रुचि राख्ने दीपाले दिलको बदलापछि ’मलाई पनि कालो गाँजल...’ रेकर्ड गराइन् । जुन गीतले श्र्रोतामाझ उनलाई कालो ’गाँजलवाली’ भनेर चिनायो । कहिल्यै प्रचारबाजीमा विश्वास नगर्ने दीपा त्यसपछि दुई वर्ष अध्ययन, शिक्षण र संगीत सिक्नमै हराइन् । हालसालै ’तेजी’ एल्बम लिएर आएकी उनले एकाएक संगीत क्षेत्रमा झट्का दिइन् । ’करेन्टवाल झट्का त के झट्का...’ बोलको गीतले संगीतपारखीहरूलाई राम्रै झट्का दियो ।
जीवनमा ३० वटा गीत स्वरबद्ध गरिसकेकी उनलाई धेरै कम श्र्रोताले चिन्छन् । ’कतिपय कार्यक्रममा, सामाजिक समारोहमा म आफैं हुन्छु, मेरै गीत बजिरहेको हुन्छ’, उनले हाँस्दै भनिन्, ’तर मलाई कसैले चिन्दैन ।’ सुरुका दिनमा रहरले गायनमा लागेकी उनी संगीत बुझ्दै गएपछि यो त ’महासागर’ हो भन्न रुचाउँछिन् । ’एक मनले अर्को मनलाई जोड्ने पुल हो संगीत’, उनले भनिन्, ’यसलाई हल्का रूपमा लिनु हुँदैन । यो साधना हो ।’
जिन्दगीलाई ’अचम्म’को संज्ञा दिन रुचाउने दीपाले भनिन्, ’जुन अवस्थामा पनि स्थिर रहन सक्नु जिन्दगीको असली अर्थ हो ।’ रित्तै आएको मानिस रित्तै जाने सत्यलाई नभुल्न हुने उनको जिन्दगी जिउने मान्यता छ । प्रेमलाई आराधनाका रूपमा हेर्ने दीपाले सेक्सलाई भने वंश परम्परा चलाउने सूत्रका रूपमा मात्र लिन हुने बताइन् । यसको दुरुपयोगलाई मानिसले ’रमाइलो’ ठानेकाले यो मुर्खतामात्रै भएको उनको ठम्याइँ छ ।
- अन्नपूर्णबाट
deepa panta
jawani
Singer
