दश दिनभित्र बायोग्यास उत्पादन सुरु

असोज - ३ । अबको १० दिनभित्र बायोग्यास उत्पादन सुरु हुने भएको छ ।
काठमाडौँ महानगरपालिका अन्तर्गत वातावरण व्यवस्थापन महाशाखा प्रमुख रवीनमान श्रेष्ठका अनुसार बायोग्यास उत्पादनका लागि अहिले यन्त्र राख्ने काम सकिसकिएको छ । एक/दुई दिनभित्र बायोग्यास उत्पादनका लागि परीक्षणको काम हुनेछ ।
प्रमुख श्रेष्ठका अनुसार अबको १० दिनपछि कामपाका वडा नं २०, २१, १९ र १२, छुट्याइएको कुहिने र नकुहिने फोहरबाट दैनिक तीन टन फोहर प्रयोग गरी १४ किलोवाट बायोग्यास निकालिनेछ । काठमाडौँ उपत्यकामा उत्पादन हुने कुहिने फोहर व्यवस्थापन गर्नका लागि महानगरपालिकाले सो योजना ल्याएको हो ।
टेकुस्थित ट्रान्सफर स्टेसनमा राख्न लागिएको यो पहिलोे नमुना परियोजना कारखानाका लागि युरोपेली सङ्घको ८० र कामपाको २० प्रतिशत लगानी गर्ने सम्झौता भएको छ । योजना सफल भएमा अन्य स्थानमा पनि यस कार्यलाई विस्तार गरिने कामपाले जनाएको छ ।
कामपामा कुहिने र नकुहिने गरी दैनिक ४५० टन फोहर उत्पादन हुने गरेको छ । दैनिक निस्कने फोहरमध्ये ६३ प्रतिशत जैविक हुने गरेको छ । फोहरको उचित व्यवस्थापनसँगै सहरलाई फोहरबाट मुक्त गर्न र दिगो रुपमा फोहरमैला व्यवस्थापनका लागि विभिन्न किसिमको अध्ययन भइरहेको कामपाले जनाएको छ । रासस
kathmandu-metropolitan
बायोग्यास
