देश

पहिराेका कारण ९ घरपरिवार विस्थापित

पहिराेका कारण ९ घरपरिवार विस्थापित
असाेज - ५ । पहिरोका कारण खोटाङमा ९ घरपरिवार विस्थापित भएका छन् । हप्ता दिनदेखि निरन्तर परेको वर्षाका कारण पहिरोले तान्न थालेपछि सुन्तले–४ भाङटारका १६ घरपरिवारमध्ये ९ घरपरिवार विस्थापित भएका प्रहरीले जनएको छ । पहिरोले घर तान्न थालेपछि ९ घरका ६६ जना अहिले स्थानीय जनचेतना प्राविको कक्षा कोठामा बसिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक नबिनकिशोर प्रधानले बताए। पहिरो विस्थापितको सुरक्षा र आवास व्यवस्थापनका लागि छिमेकी गाविस फाक्टाङस्थित हुक्नाजोर प्रहरी चौकीबाट प्रहरी घट्नास्थल पुगेको छ । पहिरोबाट चन्दीमायाँ मगर, कर्णबहादुर मगर, कुलबहादुर मगर, बिष्णुमायाँ मगर, गेदे मगर, छबिलाल मगर, रणबहादुर मगर, मैतसिं तामाङ र गोविन्द तामाङको परिवार विस्थापित भएका हुन् । उनीहरुलाई प्रहरी र स्थानीयले बुधवार घरमा भएका सामानसहित विद्यालयमा सारेको हो । स्थानीय पदम मगरका अनुसार गाउँको उत्तरतर्फबाट करिब ५ सय मिटरमुनिबाट पहिरो झरेपछि उनीहरु विस्तापित भएका हुन । पहिरोमा भूपजित तामाङ, डन्ड तामाङ, डम्बर तामाङ, सार्के तामाङ, शेरबहादुर तामाङ, शिब तामाङ, पदम तामाङ र मानबहादुर मगरको घर समेत पहिरोको जोखिममा परेको स्थानीय सामाजिक परिचालक सरस्वती बञ्जराले बताउनुभयो । लगातारको वर्षाका कारण याम्खा, मात्तिम, चिरउरीडाँडालगायतका गाविसमा समेत क्षति भएको केही जानकारी आएपनि एकीन डाटा आउन बाँकी रहेको प्रहरीको भनाइछ ।

विशेष