ताजा खबर समाज

शिक्षक विद्यालय नै जाँदैनन, परिचरले ६० विद्यार्थी पढाउंछन्

शिक्षक विद्यालय नै जाँदैनन, परिचरले ६० विद्यार्थी पढाउंछन्

school_Strike असोज ७ । सिराहाको र्चैया नपा १ मठडाहीकुटीको जनजागृति प्राथमिक विद्यालयका शिक्षक विद्यालय नआएपछि विद्यार्थीको पढाइ प्रभावित भएको छ । तीन कक्षासम्म पढाइ हुने विद्यालयका एक मात्र शिक्षक (निमित्त प्रअ) हरिदेव मण्डल विद्यालयमा उपस्थित नभएपछि विद्यार्थीको पढाइ प्रभावित भएको हो ।

स्थानीय रामनाथ साहका अनुसार मण्डल शिक्षक नियुक्त भएदेखि नै नियमित विद्यालय आउने गरेका छैनन् । स्थानीय भएकाले उनी राजनीतिक रवाफ देखाउँदै विद्यालय नआउने गरेको उनले बताए । शिक्षक नआएपछि विद्यालयका सहयोगी रवीन्द्र ठाकुरले विद्यार्थीलाई पढाउने गरेको स्थानीय गुरुदयाल सदायले जानकारी दिए ।

नियुक्त भएदेखि नै मण्डल विद्यालय नआएपछि आफैंले विद्यार्थीलाई जानेसम्म पढाउने गरेको कार्यालय सहयोगी ठाकुरले स्वीकार गरे । उनी भन्छन, ’तीनवटै कक्षामा गरी जम्मा ६० जना विद्यार्थी छन् । नियमित १२–१५ जना आउँछन, उनीहरूलाई म आफैं पढाउँछु ।’

विद्यालयको हाजिरी रजिस्टरसमेत मण्डलले आफ्नै घरमा राख्ने गरेको कार्यालय सहयोगी ठाकुरले बताए । रजिस्टर नभएपछि हाजिर गर्नसमेत उनकै घरमा जाने गरेको ठाकुरले बताए । विद्यार्थीको नाम टिपेर त्यहीअनुसार हाजिर गर्ने गरेको उनले बताए । समाचार संकलन गर्न पुगेको दिन परिचर ठाकुर पनि विद्यार्थीलाई छुट्टी दिएर गाउँमा सत्यनारायणको पूजा गराइरहेको भेटिए । ’शिक्षक पनि नआउने, तपाईं पनि यसरी पूजाआजा गराएर हिँडेपछि विद्यार्थीलाई कसले पढाउँछ ? भनी सोध्दा उनले भने, ’ब्राम्हण भेटिएनन, मलाई पूजा गराउन भनेकाले जानेको गरिदिएको हुँ ।

Siraha

विशेष