स्वास्थ्य

पाँचसय बढीको निःशुल्क मिर्गौला परीक्षण

पाँचसय बढीको निःशुल्क मिर्गौला परीक्षण
असाेज - ८ । पर्वतको विकट गाउँमा सञ्चालित निःशुल्क मिर्गौला रोग उपचार शिविरबाट झन्डै साढे पाँच सय नागरिकको निःशुल्क मिर्गौैला परीक्षण गरिएको छ । ‘नेपाल किड्नी फाउन्डेसन’ र अमेरिकाको ‘डाभिटा भिलेज ट्रस्ट’ले शुक्रबार जिल्लाको फलेवासमा आयोजना गरेको मिर्गौला परीक्षण शिविरबाट ५३८ जना सर्वसाधारण लाभान्वित बनेका हुन् । kidny स्वदेशी तथा विदेशी दक्ष चिकित्सक र प्राविधिकले शिविरमा सेवा उपलब्ध गराएका थिए । मिर्गौलासम्बन्धी रोगको परीक्षण, परामर्श र समस्या भएका बिरामीलाई औषधिसमेत वितरण गरिएको फाउन्डेसनका संयोजक गणेश उप्रेतीले जानकारी दिए । फाउन्डेसनले बर्सेनि यस्ता शिविर सञ्चालन गर्दै आएको उनको भनाइ छ । मिर्गौलासम्बन्धी समस्या भएका बिरामीको पहिचान र उपचारमा सघाउन शिविरको आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष एवम् मिर्गौला रोग विशेषज्ञ डा शक्ति बस्नेतले बताए । शिविरमा बिरामीको पिसाब, रगत र रक्तचाप परीक्षणमार्फत मिर्गौलाको परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये एक व्यक्तिको दुवै मिर्गौला फेल भएको पाइएको र उहाँलाई थप उपचारका लागि काठमाडाँै रिफर गरिएको उप्रेतीले जानकारी दिए । फाउन्डेसनले उपचारसँगै मिर्गौला रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्य पनि गर्दै आएको छ । पाँच दिने अभियानअन्तर्गत बिहीबार बागलुङमा शिविर सम्पन्न भएको छ भने शुक्रबार पर्वतको फलेवास, शनिबार सदरमुकाम कुश्माबजार, आइतबार लेखनाथ पोखरामा शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । निःशुल्क परीक्षण र औषधि समेत पाइने भएपछि अत्याधिक भीड लागेको थियो । मिर्गौला जाँचका लागि बिहानैदेखि शिविरस्थलमा सर्वसाधारणको लाम लागेको थियो । अमेरिकाका दुईजना विशेषज्ञ चिकित्सकसहित २३ जना स्वास्थ्यकर्मीले शिविरमा सेवा प्रदान गरेका थिए । शिविरमा फाउन्डेसनका सल्लाहकार रहनुभएका निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले पनि सर्वसाधारणलाई मिर्गौलासम्बन्धी परामर्श दिएका थिए । रासस

Kidney Test in prabat deistic

विशेष