जिपको ठक्करबाट बालकको मृत्यु
असाेज - १० । दाङमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ। तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंका अनुसार पवननगर–५ कुमलगैडी निवासी सात वर्षीय दीपक चौधरीको मृत्यु भएको हो।
धनौरीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा१ज ३८६ नम्बरको यात्रुबाहक जिपको ठक्करबाट गम्भीर घाइते चौधरीको राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी प्रसार्इंले जानकारी दिए।
सोमबार बिहान १० बजेतिर उक्त दुर्घटना भएको थियो। चालक र ठक्कर दिने जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सोही घटनालाई लिएर मृतकका आफन्त एवम् स्थानीयवासीले पीडितपक्षलाई उचित क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै घटनास्थलमा सडक अवरुद्ध पारेका छन्।
सडक खोल्ने बारेमा छलफलको प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ।
Accident in Dang