विचार

परपीडक दीपकराज गिरीका नाममा

परपीडक दीपकराज गिरीका नाममा
deepak-raj-giri-nepalaaja दीपकजी, नमस्कार । दशैं बिदा मनाउन म डेड महिनाको छुट्टि लिएर कतारबाट शनिबार नेपाल आएको हुँ । तीन बर्षपछि फर्कदा मैले एअरपोर्टमा मेरा काखे छोराको मिठो मुस्कान र श्रीमतीको न्यानो अंकमाल पाएँ । श्रीमतीको खुशी र छोराको भविष्यका लागि विदेशिएको मेरा लागि यो भन्दा ठूलो आतिथ्यता के नै हुन सक्छ र ? सानैमा बुबा आमा गुमाएकाले मेरा लागि बाच्ने आधार भनेको यि दुई बाहेक सायदै कोही हुनसक्छ । मोरङ घर भएपनि म पढ्नलाई काठमाडौं आएँ । आर आर क्याम्पसमा पढ्दा धादिङकी सहपाठीसँग मेरो प्रेम विवाह भयो । स्नातक गर्दा नगर्दै वैवाहिक जीवनमा बाँधिए पछि मलाई घरव्यवहार च्याप्यो । म विदेशिएँ । विदेशिनु मेरा लागि बाध्यता थियो । अर्कोतर्फ सुन्दर भविष्य देखाउने माध्यम पनि । म विदेश जाँदा श्रीमती गर्भे थिइन् । खर्च बढ्ने निश्चित थियो । खाशै कमाइ नभएपछि मैले श्रीमतीलाई घर लगेर छाडे र विदेशिएँ । सुत्केरी बस्न आएकी उनलाई मैले घर पठाउन उचित ठानिनँ । घरमा भाउजुहरुसँग -याङ्ठयाङ नमिल्ने सम्भावना देखिदैथियो । मैले माइतमै बस र पढ भनेँ । तीन बर्षपछि हाम्रो भेट बडो प्रेमप्रद् रह्यो । हामी प्रेमी प्रेमिकाजस्तै थियौँ र छौँ । बुढाबुढी भएको उतिसारो अनुभव छैन । बिहे गरेको केही महिनामै उनी गर्भवती भएपनि म विदेशिएको थिएँ । सो रात हामीले भोलिका लागि सपना बाड्यौँ । उनले मलाई नेपालमै केही गरौँ भन्ने प्रस्ताव गरिन् । मैले कम्पनीले राम्रो गरेको र सुपरभाइजरको जिम्मेवारी त्यत्तिकै छोड्न नमिल्ने तर्क गरे । गएपछि केही महिनामै फर्कने वाचा गरेँ । अबेर निन्द्रा पर्यो । ढिला गरि बिउँझिएछु । उठ्दा छेउमा बाबु खेलिरहेको थियो । उनी बाथरुममा थिइनँ । ‘कहाँ जाने ?’ उनले धादिङ भनिन् । मैले मोरङ जानुपर्ने जोड गरेँ । आइतबार काठमाडौँमै बस्ने, धादिङबाट सालीले लुगाफाटा ल्याइदिने र सोमबार मोरङ जाने निधो भयो । आइतबारको दिन छक्कापञ्जा हेर्ने निधो भयो । साडे पाँच बजेको शोका लागि फोनबाटै टिकट बुक गरियो । तपाईको मुख्य अभिनय रहेको र नेपथ्यमा बसेर तपाईले निर्देशन गरेको चलचित्र छक्कापञ्जा हेर्न भिडमभाड रहेछ । हलमा शुरुमै हासोको फोहोरा छुट्यो । हामी पनि हास्यौँ । विस्तारै कथाले हसाउनभन्दा मलाई नराम्रोसँग चिमोट्न थाल्यो । मलाई थाहा छैन, मैले उनको हात कतिबेला छोडे । उनीपनि उतिसारो खुल्न सकिनन् । मलाई पनि अफ्ठयारो लागिरह्यो । हलमा मान्छेहरु हासिरहँदा बाबु खित्का छाड्थ्यो । उसको हाँसो मलाई आफैंलाई बोझ लागिरहेको थियो । चलचित्रमा वैदेशिक रोजगारीमा गएकाहरुका श्रीमती कसरी परपुरुषसँग लाग्दछन् भन्ने विषयमा मात्र केन्द्रीत रहेछ । अन्तिममा हैट पात्र वैदेशिक रोजगारमा जान्छ । उसले गाऊँभरिका पुरुष पात्रलाई श्रीमतीको दाजुभाइ बनाएर टिको लगाएर गएको देखाइन्छ । वैदेशिक रोजगारीका कारण निम्तिएका सकारात्मक र नकारात्मक अन्य कैयौँ पाटा छन् । देशमै स्वरोजगार बनाउने विषय देखि रेमिट्यान्सको सदुपयोग कसरी गर्ने भन्ने सन्दर्भमा पनि चलचित्र बन्न सक्दथ्यो । तर, चलचित्रको मुख्य विषय नै श्रीमती जोगाउने र अर्काकी श्रीमतीसँग चोरीचकारी गर्ने छ । यो चलचित्रले विदेशमा रहेका झण्डै पचास लाख युवक र उनीहरुका श्रीमतीको सम्बन्धसँग खेलवाड गरेको छ । उनीहरुको भावनामाथि नराम्रोसँग चोट पुर्याउने काम गरेको छ । साथै, यो चलचित्र हेरिसकेपछि वैदेशिक रोजगारमा गएका पुरुषका श्रीमतीलाई हेर्ने दृष्टिकोण पूरै नकारात्मक बन्ने निश्चित छ । आफैंले प्रेम गरेर भित्र्याएकी श्रीमतीको हात हठात छोड्ने स्थितिमा म स्यंम पुगेँ । दीपकजी, यस्तो चलचित्र बनाएर तपाईले करोडौँको बाजी मार्नुभए होला तर विदेशिएका झण्डै पचाल लाख युवा र त्यतिनै संख्याका उनीहरुका श्रीमतीमाथि तपाईले नराम्रो प्रहार गर्नुभएको छ । विकृति नभएका होइनन् । वैदेशिक रोजगारमा नगएकाहरुका श्रीमती वा श्रीमान पनि अर्कासँग सल्किन सक्छन् । यो व्यक्तिको चरित्रमा भर पर्दछ । तर, वैदेशिक रोजगारमा गएका सबैका श्रीमती अर्काको शिकार बन्छन् भन्ने हिसावले जुन सन्देश दिन खोजिएको छ, त्यो हामीमाथिको अत्याचार हो । घर फर्केपछि मनमा कुरा खेलिरह्यो । अघिल्लो दिन खुब मन खोलेकी श्रीमतीसँग फेरि के भनेर सोध्नु र ? 'कोही छ ?’ भनेर आफ्नै श्रीमतीसँग सोध्ने आँट मसँग थिएन । उनी पनि अफ्ठयारो मानिरहेकी थिइन् । 'मेरो कोही छैन’ भनेर उनले पनि अनाहक कसरी प्रष्टिकरण दिनु ? वास्तवमा श्रीमान श्रीमतीको सम्बन्धमाथिको मजाक कति उचित ? तपाई मलाई अति मन पर्ने कलाकार हो । तर, बुझ्दै छु, तपाई कलाकारभन्दा पर पीडक हो । आरआरमा पत्रकारिता पढ्ने र टेलिभिजनमा काम गर्ने साथी तपाईको बारेमा टिप्पणी गर्दै भनेको याद आइरहेको छ, 'यो मान्छे दुनियाँलाई उडाएर रमाउँने मान्छे हो ।’ उसले कारण दिंदै भनेको थियो, 'टेलिभिजनमा काम गरेपछि धेरैले राम्रो भन्थे । तीतो सत्यमा टेलिभिजनकर्मीलाई उडाउनु उडायो । पछि आफैंले पैसा नपाको भनेर तीतो सत्य बन्द गर्यो ।’ पत्रकारले केटी हेर्न जादा समेत तलब सोध्ने गरेको भन्दै उसले तपाईप्रति तीतो पोख्थ्यो । अहिले मलाई तपाई बास्तवमै परपीडक हो जस्तो लागिरहेको छ । घरमा श्रीमती हुँदाहुँदै श्रीमती जस्तै बनाएर राखेको भनेर तपाईको आलोचना भइरहन्छ । हामीलाई तपाईको जस्तो गर्ने छुट समाजले दिएको छैन । हाम्रा आफ्नै मूल्य र मान्यता छन् । तपाईले हामीजस्ता परदेशिएकाहरुको श्रीमतीको यौनिकतालाई सस्तो रुपमा प्रस्तुत गरेर पैसा कमाउनुभएको होला । तर, धेरैले तपाईलाई यो चलचित्र हेरिसकेपछि सराप्ने छन् । परदेशिएका सबैका श्रीमतीलाई एउटै डालोमा हालेर तपाईले सतित्वको सवालमा गम्भीर आँच पुर्याउनुभएको छ । तपाई आफैँपनि कलाकारिताको सिलसिलामा घर छाडेर देशविदेश चाहर्नुहुन्छ । के तपाईलाई आफ्नै श्रीमतीप्रति संका छ ? कार्यक्रमको पैसा नपाएको पीडा पत्रकारको रुपमा व्यक्त गरेजस्तै घरभित्रको समस्या छक्कापञ्जामार्फत व्यक्त गर्नुभएको त होइन ? संका लाग्न थालेको छ । प्रिय दीपकजी, तपाईको कला सकारात्मक कामको लागि प्रयोग गरे राम्रो होला । बरु, हामीले पठाउने रेमिट्यान्स सदुपयोग गर्ने बारेमा चलचित्र बनाउनुहोस् , त्यसले राम्रै गर्ला । देशमै युवाहरुलाई रोजगार दिने बारेमा चलचित्र बनाउनुहोस्, त्यसले देशका लागि भलो गर्ला । तर, तपाई सेक्सका विषयमा घरबार बिग्रने गरी मजाक गरिरहनुभएको छ । दुःख लागेको छ ।

उही परदेशबाट फर्किएको, मनोज कोइराला मोरङ

Deepak Raj Giri Manoj Koirala Morang

विशेष