प्रवास विचार

नेपालीकाे उद्धारका लागि जाँदा ८ घण्टा साउदीकाे मरूभूमिमा एक्लै बिताएको क्षण

नेपालीकाे उद्धारका लागि जाँदा ८ घण्टा साउदीकाे मरूभूमिमा एक्लै बिताएको क्षण
raat1 गत एक हप्ता अगाडीदेखि केहि पीडित भाइहरूले उद्धार गरिदिन अनुरोध गरेका थिए। साउदीको सरकारी बिदाको दिन मात्रै उनीहरूलाई भेट्न जान सकिने र सम्भव भएसम्म उद्धार गर्ने सोंच बनाएँ। गत २३ सेप्टेम्बर, सुक्रबार कै दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य महासंघ, साउदी शाखाले 'यात्रा मरुभूमिको' पुस्तक विमोचन कार्यक्रम राखेको थियो। सो समारोहमा मलाई बिशिष्ठ अतिथिको रूपमा निम्त्याईएको थियो। म सो ऐतिहासिक समारोहमा सहभागी भएँ। पीडित भाइहरूलाई भेट्न जानुपर्ने भनेर पुस्तक विमोचन लगत्तै आफ्नो शुभकामना मन्तब्य दिएर त्यस तर्फ़ लागेँ। रियाददेखि २२० सय किलोमिटर टाढा रहेछ त्यो ठाउँ। त्यो ठाउँको नामै रहेनछ । साउदीको अनकन्टार मरूभूमिमा बिहान अढाई बजे भेट भयो, ७ जना पीडित नेपालीहरूसँग। उनीहरूलाई भेट्न रियादबाट ३ बजेनै निस्केको थिएँ। रियाददेखि २ सय किलोमिटरसम्म बाटो राम्रै थियो। त्यसपछि इन्टरनेटले काम गर्न छाड्यो। र,लोकेसन म्याप रूट नै गायब भयो। पीडित भाइहरूलाई मोबाइलमा सम्पर्क गरेँ। कहिलेकाँही मात्रै नेटवर्कले काम गर्थ्यो। पीडित भाइहरूले त्यो ठाउँसम्म पुग्न बाटो बताउँन पनि सक्दैनथ्यो। त्यहाँ पुग्नका लागि बाटो बताउँन भाइहरूले सँगै काम गर्ने एक भारतीय नागरिकसँग सहयोग लियो। ति भारतीय नागरिकले भने जस्तै मैले गाडी गन्तब्य तर्फ लगेकै थिएँ। केहि पर पुगेपछि गाडीले गलत दिशा लिएछ। अगाडि बढ्दै गएँ। मैले बाटो बिराएकै रहेछु भन्ने लाग्यो। म आत्तिएँ। त्यतिबेलासम्म घाम अस्ताउनै लागेको थियो। म गइरहेको बाटो भन्दा ठीक सय मिटर पर पक्कि बाटो देखेँ। एकदुई वटा ठूला गाडीहरू गुडिरहेको देखेँ। सोहि पक्कि बाटोमा पस्न खोज्दै थिएँ। अगाडि पढ्दै जाँदा गाडीको पछाडिको चक्का बालुवामा फंस्यो। म पूर्ण रूपले निराश भइसके। किनकि, बिगतमा एकदुई पटक त्यस्तो अनुभव व्यहोरिसकेको थिएँ। तैपनि, गाडी रिभर्स गरेँ। पछाडिको दुवै चक्का बालुवामा फंसीसकेको थियो। घाम पनि अस्ताई सक्यो। बिस्तारै अध्यारो हुन थाल्यो। अब के गर्ने भन्ने भ्येउ नै पाएनं। मोबाईल हेरेँ, नेटवर्क छैन। एकछिन् गाडीको स्टेरिंगमा टाउको अड्याएर बस्न थाले। अब, के गर्ने के, सोच्नै सकिरहेको थिएनं। त्यतिन्जेलसम्म पूर्णरूपमा अँध्यारो भइसकेको थियो। गाडीको हेडलाइट बालेँ। तैपनि म आफैं बालुवामा फँसेको गाडी निकाल्न सक्छु कि भनेर प्रयास गरेँ। गाडी भित्र साना कार्पेटहरू थियो। बालुवा पन्छ्याएर चक्का मूनि कार्पेटको टुक्रा राखेँ। त्यसले पनि काम गरेन। घडी हेरेँ साँझको ७ बजिसकेको थियो। अलि परको पक्कि सडकमा गाडी गुडेको आवाज पनि सुन्न छाडी सकेको थियो। अब मलाई जसरि हुन्छ, मोबाईल चालू गर्नु थियो। नजिकै बालुवाको थुम्को देखेँ। त्यहि बालुवाको थुम्कोमा चढेर मोबाईल हेरेको नेटवर्क आयो। एकछिन् राहत भएको महशुस गरेँ। र, पीडित भाइहरूलाई सम्पर्क गरेँ। त्यतिन्जेलसम्म भाइहरूले अबत दाइ आइपुग्नु हुन्छ भनेर बसेका रहेछन्। म अलपत्र परेको खबर सुनाएँ पछि भाइहरू फोन मै निराश भयो। गाडी बालुवामा फँसेको २ वटा फोटो खिचेर म अनकन्टार मरूभूमिमा फँसेको फेस्बूक मार्फत जानकारी गराएँ। मेरो सुरक्षाका लागि कयौँ महानुभावहरूबाट शुभकामना बर्षिन थाल्यो। मेरो सुरक्षाका लागि शुभकामनाहरू सहितको कमेन्टहरू पढ्दा तपतप आँशु खस्यो। पीडित भाइहरूले मलाई लिन आउनका लागि कैयौँ उपाएहरू रचेछन्। विचरा, भाइहरू आफैं पीडित छन्, सजिलै कहाँबाट सवारी साधन व्यवस्था गरेर म भएको ठाउँसम्म आउन सक्थे र ? तैपनि, मानवियता भएका एकजना पाकिस्तानी र अर्को भारतीय नागरिक ति भाइहरूसँग मलाई खोज्न जान तयार भएछन्।  हामीहरू तपाईंलाई लिन आउँदैछौं। सक्नु हुन्छ भने पक्कि सडक सकिएको ठाउँसम्म हिडेर आउनु होला भन्ने अनुरोध भयो, भाइहरूबाट। तीन घण्टासम्म गाडी भित्र बसेर उनीहरूलाई कुरिरहें। भाइहरूले पनि बाटो बिराएर अर्कै ठाउँतिर पुगेछन्। त्यतिन्जेलसम्म रातिको ११ बजिसकेको थियो। मलाई कसैले सम्पर्क गर्न सक्छ भनेर म गाडी भित्र नबसि बालुवाको थुम्कोमा गएर बसिरहें। गाडी फँसेको ठाउँमा नेटवर्कले टिप्दैनत्यो। म बालुवाको थुम्कोमा गएर बस्ने बित्तिकै महामहिम कार्यवाहक  राजदूत श्री आनन्दप्रसाद शर्माले मोबाइलमा सम्पर्क गर्नु भयो। सोहि समयमा अन्य २-३ जना मेरा शुभचिन्तकहरूले पनि सम्पर्क गर्नु भएको थियो। मिल्छ भने मेरो गाडी निकाल्न दूताबासबाट गाडी पठाउनु होला भनेर अनुरोध गरेँ। केहीबेर पछि दूताबासको गाडी लिएर दूताबास कै कर्मचारी मान बहादुर थापा, मेरो मित्र ओमन दर्लामी मगर सहित थप चार जना लिएर म भएको ठाउँतिर हुइकिनु भएछ। म फेरि बालुवाको थुम्कोमा चढेर वाट्सअपबाट म भएको लोकेसन पठाएँ। र,फोन गरेरै पनि ठाउँसम्म पुग्ने बाटो बताएँ। यसरी बसेर हुँदैन, पक्कि सडक सकिएको ठाउँसम्म म जसरि पनि पुग्नु पर्छ भन्ने लाग्यो। नत्र दूताबासबाट गएका सरहरू पनि म भएको ठाउँसम्म पुग्न सक्नुहुन्न भन्ने लाग्यो। गाडी मै ४० प्रतिशत जति मोबाइल चार्ज गरें। र, मोबाइलको फ्लासलाइट बाली गाडी बन्द गरेर सो स्थान तिर हिडें। पहिला, त्यो स्थान छोड्दा नजिकै जस्तो लागेको थियो। ठीक दायाँपट्टि १५० मिटर पर नवनिर्माण भएको पक्कि सडक थियो। पुरै ४५ मिनेट हिड्दा पनि त्यो ठाउँसम्म पुग्न सकिन। त्यतिन्जेलसम्म मोबाइल चार्ज पनि सकिएछ। मोबाइलको फ्लासलाइट बन्द भयो। अगाडि बढौं कि फर्कौं, दोधारमा परें । एकछिन् बालुवा मै थचक्क बसेँ। यो भन्दा अगाडी बढें म हराउन सक्छु भन्ने लाग्यो। र, जुन बाटो आएको थिएँ, त्यतै फर्कें। बाटो अलिअलि मात्र देखिएको थियो। म आफैं जाँदा टेकेको पाइलाहरू अस्पष्ट देखिएको थियो। त्यसलाई पच्छ्याऊँदै अगाडि बढें। केहि बेर पछि हँसिया आकारको जुनको आगमन भयो। थोरै राहत भएको महशुस गरेँ। जुत्तासँग हिड्न सकिनँ। पैतालामा गोडा दुइएक ठेला उठेछन्। जुत्ता निकालेर खाली खुट्टा हिड्न थालेँ। गाडी फँसेको स्थानसम्म पुग्न निकै कष्ट भयो। बडोमुस्किलले पुगें। भोक र प्यासले मूख प्याकप्याक भएको थियो। सबैभन्दा पहिला मोबाइल चार्ज गर्नुपर्छ भन्ने लाग्यो। र, गाडी स्टार्ट गरेर मोबाइल चार्ज गरेँ। केहि मिनेट पछि मोबाईल चालु भयो। कसैले सम्पर्क गर्न सक्छ भन्ने लागेर पुन: बालुवाको थुम्कोमा चढें। नभन्दै दूतावासबाट जानु भएका सरहरूले सम्पर्क गर्नु भयो। र, लगत्तै ति पीडित भाइहरूले पनि सम्पर्क गरे। एउटा थप घटना यहाँ जोड्न चाहेँ। मोबाइल फ्लासलाईट बन्द भएपछि फर्किदै गर्दा परबाट एउटा गाडी मधुरो बत्ति बाल्दै आएको देखेँ। लगभग ४ घण्टा पछि बल्ल एउटा मात्र गाडी आएको हुनुपर्छ। त्यो गाडीको चालकले मलाई सहयोग गर्न सक्नेछ भन्ने झिनो आशा पलायो, मलाई। त्यसैले, बलौटे कच्ची बाटो छाडेर त्यो पक्कि सडकमा गएर हिड्दै थिएँ। बलौटे कच्ची बाटो र पक्कि सडक झन्डै डेढ सय मिटरको दूरीमा समानान्तर रूपमा बनाएको रहेछ। म बलौटे कच्ची बाटो हुँदै गएको रहेछु। त्यो गाडी टिप्परट्रक रहेछ। त्यो टिप्परट्रक धेरै पुरानो भएकोले होला त्यसको बत्ति पनि धेरै मधुरो थियो।  ४ घण्टा पछि एउटा गाडी त्यसरी आउँदा मलाई राहत भएको महशुस भएको थियो। त्यो टिप्पर चालकले मलाई सडकको छेउंबाट हिडेको देखेछ। सायद, मलाई अस्पस्ट रूपमा देखेको हुनुपर्छ। उसले टिप्परको गति कम गर्यो। टिप्पर रोकेर चालकले मलाई बोलाउँछ कि भन्ने लागेको थियो। क्षण मै मेरो सोंच परिवर्तन भयो। र, त्यसले मलाई नबोलाओस् भन्ने लाग्यो। किनकि, कुन देशको मानिस थियो त्यो, विश्वास गर्न सकिदैन। मंगोलियन अनुहार परेको मानिसलाई गलत नियतले आक्रमण पनि गर्न सक्छ। त्यसो भयो भने अर्को समस्या पनि थपिन सक्छ भन्ने लागेर मैले त्यसलाई बेवास्ता गर्दै म हिडिरहे। त्यसले आफ्नो टिप्परट्रकको गति झन् कम गर्यो र केहि बेर पछि त्यो पनि आफ्नो गन्तब्यतिर लाग्यो । मैले अनुमान गरें कि त्यो टिप्पर चालकले मलाई नबोलाउनुको कारण म के हुँ भन्ने नै उसले ठम्याउन सकेन। उसले म मान्छे नै हो भन्ने लागेको भए, त्यस्तो एकान्त मरूभूमिमा मलाई एक्लो वेवारिसे जस्तो देख्दा कुनै न कुनै प्रतिकृया देखाउन सक्थ्यो। अथवा, आपत परेर यसरी एकलै गन्तब्य बिहीन हिड्दै छ, यसलाई सहयोग गर्नुपर्छ भन्ने लागेर मलाई बोलाउनु पर्थ्यो। त्यो टिप्परट्रक चालक मलाई नबोलाई गन्तब्यतिर लागे पछि मलाई थोरै हाँसो पनि लाग्यो कि त्यसले मलाई मान्छे नठानेर भूत ठानेछ, त्यसैले त्यो आफैं मसँग डराएर आफ्नो गन्तब्यतर्फ लाग्यो। मेरो उद्धारको लागि दुवै तर्फबाट आउँनु भएकाहरू पक्कि सडक सकिएको स्थानसम्म आईपुग्नु भएछ। पक्किबाटो सकिएको स्थानमा 'सडक समाप्त' भनेर बोर्ड नै राखेको छ, त्यहाँ। तर, बीचमा ब्लक गरेर ४-५ सय मिटर अगाडी सोहि बाटो निर्माण भएको रहेछ। त्यो बाटोको ठीक सय मिटर पर म फँसेको रहेछु। म बालुवाको थुम्कोमा बसेर उहाँहरू आइरहेको गाडीको हेडलाइट म तिर तेर्सिएको देख्दा ठूलो राहतको सास फेरेँ। त्यतिन्जेलसम्म कुनै गाडी नचलेको हुँदा मेरो उद्धारको लागि आउँनु भएकाहरू नै हुनहुन्छ भन्ने यकिन गरेँ। मभन्दा सय मिटर टाढा आइपुग्नु भएपछि मैले फोन सम्पर्क गरेँ। मेरो नजिक आइपुग्नु भयो गाडी रोक्नुस् भनेर अनुरोध गरें। दुवैतिरबाट एकै चोटी आइपुग्नु भयो। मैले मतिर बोलाएँ। उहाँहरुले मेरो लागि पानी र केहि खानेकुरा लिएर आउँनु भएको रहेछ। एक लिटरभन्दा बढी पानी एकै सासमा सकाएँ। थप जूस र केही खानेकुरा खाइसके पछि ठूलो राहत भयो, मलाई। दुवै तिरबाट आउँनु भएका नौ जनाले फँसेको गाडी निकाल्न सजिलै सफल भयौं। र, रियादबाट जाने सरहरूलाई फर्किन अनुरोध गरे।  म पीडित भाइहरूसँग गएँ। सन्जोग कस्तो अचम्म। पीडित ४ जना भाइहरू र रियादबाट जानु भएका सरहरू त्यहाँ एकैसाथ पुगेका थिए। कथम्कदाचित एउटा समूह मात्र पुगेको भए ४-५ जनाले मात्र फँसेको गाडी निकाल्न गार्है हुने थियो। दुवै समूहका ८-९ जना मानिसहरू एउटै समयमा त्यहाँ पुग्दा फँसेको गाडी निकाल्न अति नै सजिलो भएको थियो। र, २-३ मिनेट भित्रमा नै गाडी निकाल्न सफल भयो। पीडित भाइहरूको बारेमा जानकारी लिएँ। गत दुई महिना अगाडि नबिल ए.अल-सकार कम्पनीमा नवराज पाण्डेद्वारा सञ्चालित कान्तिपुर ओभरसिज, सामाखुशी काठमाडौँले तिनीहरूलाई पठाएका रहेछन्। अल-सकार कम्पनीले  सिमेन्ट बनाउँने फ्याक्ट्री यामाह कम्पनीलाई कन्ट्रयाक्टमा दिएको बुझिन्छ। उनीहरूलाई मासिक १३ सय रियाल तलब दिने सहमति गरी पठाए पनि अहिलेसम्म एक रियाल पनि तलब बापत नदिएको पीडितहरू बताउँछन्। कम्पनीले अहिलेसम्म साउदी रेसिडेन्सी कार्ड (अकामा) नबनाई दिएको बुझिन्छ। कम्पनीले अकामा नबनाइ दिए पछि कुनै पनि बिमा हुन नसक्ने र बिमा नभएपछि बिरामी हुँदा उपचार हुन नसक्ने साउदीको प्रावधान रहेको छ। अकामा बन्न नसक्नु भनेको एक प्रकारले अवैध कामदारको रूपमा रहेको भन्ने बुझिन्छ। उनीहरूसँग अकामा नभएको अवस्थामा साउदी प्रहरीले फेला पारे समातेर जेलसम्म हाल्न सक्छ। प्राय: सबै कम्पनीहरूले कुनै पनि नयाँ कामदार साउदी आइपुगेको एक हप्तादेखि १० दिन भित्रमा अकामा बनाएर कामदारलाई दिइसकेको हुन्छ। दुई-दुई महिनासम्म पनि तलब सुबिधा नपाउने र अवैध रूपमा साउदी बस्न बाध्य भएकाहरू: दाङका प्रेमबहादुर केसी,स्याङ्जाका कोषबहादुर खवास, रोल्पाका टेकबहादुर रोका, सल्यानका बद्री बोहोरा, बाग्लुंगका अशोक बहादुर कामी, पाल्पाका खुमबहादुर थापा र पाल्पाकै भीमबहादुर थापा रहेका छन्। यी सबै सातैजनाले सहमति पत्रमा उल्लेख भए अनूरुप तलब सुबिधा प्रत्येक महिना पाउनुपर्ने, तुरून्तै अकामा बनाएर मेडिकल सुबिधा दिलाउनु पर्ने, सहमतिअनुसार बाहिर ५० डिग्री घाममा होइन - भित्र काम गर्न पाउनु पर्ने माग राखेका छन्। मेनपावरसँग भएको सहमति अनुसार तलब सुबिधा दिन नसके तुरून्तै स्वदेश फिर्ता गराउँन माग गरेका छन्।  सरकारले १० हजार मात्र वैदेशिक रोजगारीमा जानेहरूबाट असुल्न पाउने व्यवस्था गरे पनि मेनपावरले उनीहरूबाट एकलाख १० हजार रुपैयाँ देखि एक लाख २५ हजार रुपैयाँसम्म उनीहरूले बताएका छन्। ति पीडित भाइहरूलाई न्याय दिलाउँन नेपाली दूतावास, रियादमा अनुरोध गरिसकिएको छ। सरकारले यस्तो अव्यबस्थित वैदेशिक रोजगारलाई अबिलम्ब सुधार गरियोस्। सोझा सिधा नेपाली यूवाहरुलाई कमिशन पाउने लोभमा रोजगार दाता कम्पनीको प्रकृति नै नबुझिकन अन्धधुन्ध कसैलाई यसरि नपठाइयोस्। अदक्ष नेपाली कामदारहरूलाई प्रयाप्त अभिमुखीकरण तालिम बिना खाडी मूलुक पठाउने कार्य अविलम्ब बन्द गरियोस्। साउदी सरकार र रोजगार दाता कै कारणले निर्दोष कामदारहरूलाई अवैध घोषणा गरेर जेल हाल्ने र स्वदेश फर्किनबाट बन्देज गरिएको छ । त्यसलाई रोक्न नेपाल सरकार र साउदी सरकारबीच अबिलम्ब श्रम सम्झौता होस्। हजारौं नेपाली कामदारहरूको समस्या हेर्न नेपाली दूताबासमा प्रयाप्त कर्मचारीको व्यवस्था गरियोस्। नेपाल एउटा सस्तो श्रमिकहरू उत्पादन र निर्यात गर्ने देशको रूपमा चिनिएको छ। यस प्रति सरकार गम्भीर बनोस्। लाखौं यूवाहरूलाई वैदेशिक रोजगारमा पठाउनु भन्दा स्वदेश मै स्वरोजगार बनाउँन प्रोत्साहन गरियोस्। - हाेम सुनारी मगर, साउदी अरब  

Hum Sunari Magar Rescue in Saudi Saudi Arabia

विशेष