खेल

पाँच सयौँ टेस्टमा भारतद्वारा न्युजिल्यान्ड पराजित

पाँच सयौँ टेस्टमा भारतद्वारा न्युजिल्यान्ड पराजित
असोज ११ । न्युजिल्यान्डविरुद्धको तीन टेस्ट सिरिजको पहिलो खेलमा भारत विजयी भएको छ । पाँच सयौँ टेस्टमा जित निकाल्ने क्रममा घरेलु टोली भारतले न्युजिल्यान्डलाई १ सय ९७ रनले हराएको हो । india-new-zealand-test भारतलाई पहिलो खेलमा जित दिलाउने क्रममा स्पिनर रविचन्द्र आश्विनले उत्कृष्ट प्रदर्शन गरे । आश्विनले पहिलो इनिङमा ४ विकेट लिँदा दोस्रो इनिङमा ६ विकेट हात पार्दै समग्रमा १० विकेट लिन सफल भए । आश्विनले एकै इनिङमा ५ विकेट वा सोभन्दा बढी लिएको यो १९औँ पटक हो । अन्तिम दिन आश्विनले मिचेल सान्टनरलाई ७१ रन बनाएर खेलिरहँदा रोहित शर्माबाट क्याच गराउँदै पेभिलियनको बाटो देखाए । यस्तै आश्विनले इस सोधीलाई पनि १७ रनमा बोल्ड गरेका थिए । दोस्रो इनिङमा न्युजिल्यान्डलाई कमजोर रनस्कोरमा रोक्ने क्रममा रविन्द्र जडेजाले एक विकेट लिए भने मोहमद सामीले २ विकेट आफ्नो नाममा लेखाए । जितको लागि ४ सय ३४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले अन्तिम दिन लुक रोन्चीबाट निकै आशा गरेको थियो । तर, रोन्ची ८० रन बनाएर खेलिरहँदा जडेजाले आश्विनबाट क्याच गराए । रोन्चीलाई मिचेल सान्टनरले गतिलो साथ दिएका थिए । मिचेल सान्टनर ८ तथा रोन्ची ३८ रन बनाएर खेलिरहँदा अन्तिम दिनको खेल सुरु भएको थियो । रोन्ची र सान्टनरबीच पाँचौँ विकेटको लागि १ सय २ रनको साझेदारी भएको थियो । सान्टनर ७१ रनमा आठौँ विकेटको रूपमा आउट भएपछि खेल भारतको पक्षमा गएको थियो । जितको आधार दोस्रो इनिङ दोस्रो इनिङमा भारतले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेटको क्षतिमा ३ सय ७७ रन जोडेर इनिङ समाप्तिको घोषणा गरेको थियो । दोस्रो इनिङमा भारतका तर्फबाट चार ब्याट्सम्यानले अर्धशतक प्रहार गरे । ओपनर मुरली विजयले ७६ रन जोडेका थिए । यस्तै, चेतेश्वर पुजाराले ७८ रन जोड्दा भारतको इनिङ मजबुत बन्यो । कप्तान विराट कोहली (१८) र अजिन्का राहाणे (४०) रनमा आउट भए पनि रोहित शर्मा र जडेजा दुवैले अर्धशतक बनाए । रोहित ६८ र जडेजा ५० रन बनाएर खेलिरहँदा भारतले इनिङ समाप्तिको घोषणा गरेको थियो । बलिङतर्फ न्युजिल्यान्डका सान्टनर र सोधीले २–२ विकेट हात पारे ।

Cricket India new zealand test

विशेष