विचार

पोर्चुगलको वास्तविकता

पोर्चुगलको वास्तविकता

युरोपेली संघको सदस्य भएको नाताले युरो मुद्रा चल्ने पोर्चुगल क्याथोलिक क्रिस्चियन बाहुल्य लोकतान्त्रिक मुलुक हो। सन् १९९६ देखि पोर्चुगलमा नेपालीको बसोबास सुरु भएको हो। ब्राजिल, मोजाम्बिक, भारतको गोवा, अंगोलालगायत विभिन्न मुलुकको औपनिवेशिक राज्य भए पनि आर्थिक रूपमा कमजोर भएकाले विदेशी कामदार र लगानी भित्र्याउने खुला बजार नीतिअन्तर्गत प्रवासीहरूका लागि ढोका खोलिएको थियाे।  राणा खलक र सम्भ्रान्त नेपालीहरूको पहुँच पुग्ने युरोप आउजाउ २०४७ सालको क्रान्तिपछि नेपालीका निम्ति सहज बन्न पुग्याे। जर्मनी, बेल्जियम, डेनमार्कजस्ता धनी मुलुकमा पढ्न, घुम्न र तालिममा आउने नेपाली स्थायी रूपमा बस्न पोर्चुगल आउने क्रम बढेपछि नेपालीको बसाइ बाक्लिन थाल्याे । १२ वर्षे द्वन्द्वकालमा नेपालीहरू युरोप प्रवेश क्रम ह्वात्तै बढेपछि कानूनी रूपमा वैध हुन पोर्चुगल भित्रिनेहरूको संख्या पनि बढेकाे देखिन्छ ।

पोर्चुगलका महावाणिज्यदूतका अनुसार तुलनात्मक रूपमा अन्य देशका भन्दा नेपालीहरू काममा मिहिनेत गर्ने, अपराध कर्ममा संलग्न नहुने भएकाले नेपालीहरू पोर्चुगिज समाजमा असल मानिसका रूपमा परिचित छन्। विभिन्न व्यवसायमा संलग्न भएर पनि नेपालको परिचय बढेको छ। राजधानी लिस्बनमा रेस्टुरेन्ट व्यवसायमा लाग्नेहरूले नेपालको चिनारी बढाएका छन्। त्यसबाहेक नेपालको हस्तकला, वास्तुकला र पहाडिया कागजले पनि हाम्रो उत्पादनसँगै देशलाई चिनाएको छ।


पोर्चुगलमा वैध हुने तरिका कानुनी रूपमा पोर्चुगलमा वैध हुने तरिका उति साह्रो गाह्रो छैन। युरोपेली संघका २७ देशमध्ये कुनै एक देशमा वैधानिक रूपमा प्रवेश गरेको भिसा र पोर्चुगल प्रवेश गरेको जल, स्थल वा हवाई साधनको टिकट हुन जरुरी छ। आउने बित्तिकै कर कार्यालयमा दर्ता भएपछि काम खोज्न सकिन्छ। ६ महिनासम्म कर तिरेपछि सामाजिक सुरक्षाको कर विवरण भरेर वैध हुन पाउँ भनी निवेदन दिन सकिन्छ।

गृह मन्त्रालयले आवश्यक जाँचबुझ गरेपछि, नेपालमा अपराध नगरेको प्रहरी सिफारिस पत्र र कर कार्यालयले प्रमाणित गरेको कागज भएपछि बस्ने अनि काम गर्ने कागज पाइन्छ। यो कागजले नेपाल आउन-जान, युरोपेली संघका अन्य मुलुकमा घुम्न र यही व्यापार व्यवसाय गर्न खुला हुन्छ। विभिन्न म्यानपावरहरूमार्फत् आउने प्रक्रिया भने फरक छ। विभिन्न कम्पनीहरूलाई कामदार आवश्यक परेको पोर्चुगिज सरकारबाट प्रमाणित गरेर नेपालका म्यानपावरहरूसँग समन्वय गरी नेपाली कामदार मगाउने क्रम बढिरहेको छ। यसरी नेपालमै भिसा र आवासीय कार्ड बुझेर आउनेहरू धेरैजसो खेतीपातीमा संलग्न छन्। यसरी नेपाली पठाउने पेसामा इजरायल, पोर्चुगल र नेपालका केही दलाल संलग्न छन्। -सन्तोष थापा/जर्मन

Portugal

विशेष