प्रवास

देशको अस्थिरताप्रति क्यानडामा रहेका नेपालीद्वारा चिन्ता व्यक्त

देशको अस्थिरताप्रति क्यानडामा रहेका नेपालीद्वारा चिन्ता व्यक्त
असोज - १२ । क्यानडामा रहेका नेपाली नागरिकले देशमा निरन्तर जारी संक्रमणका कारण बढ्दो राजनीतिक अस्थिरताप्रति चिन्ता व्यक्त गरेका छन् । अस्थिरताका कारण देश विकास र समृद्धिको दिशामा अगाडि बढ्न नसकेको उनीहरुले गुनासो गरेका छन् । flag-pins-canada-nepal नेपाली जनसम्पर्क समिति क्यानडाले मिसीसागामा आयोजना गरेको ‘नेपालको राजनीतिक स्थिरता र आर्थिक विकास: सम्भावना र चुनौती’ विचार गोष्ठीका सहभागी वक्ताले चिन्ता व्यक्त गरेका हुन् । अर्थविद् तथा सरकारका पूर्वमुख्यसचिव डा विमलप्रसाद कोइरालाले सङ्क्रमणकालका कारण मुलुक अगाडि बढ्न नसकेको बताए । “सङ्क्रमणकालका कारण राजनीतिक अस्थिरता र विकास अवरुद्ध छ,” उनले भने । अहिले अवलम्बन गरिएको समानुपातिक निर्वाचन प्रणालीले आगामी निर्वाचनमा कुनैपनि दलले बहुमत ल्याउने अवस्था नदेखिएकाले गठबन्धन संस्कृतिबाट मुलुक अगाडि बढ्न नसक्ने उनकाे भनाइ छ। “मुलुकमा राजनीतिक परिवर्तन भएपनि त्यसको फाइदा केही ठूलाबडाले मात्र लिए, अपनत्व जनताले लिनसक्ने अवस्था नभएका कारण राजनीतिक स्थिरता कायम हुन सकेन्,” कोइरालाले भने। परिवर्तनका नाममा मुलुकलाई विखण्डनतर्फ लैजान नहुने भन्दै कोइरालाले नेताहरुले राजनीतीलाई समाज सेवाभन्दा व्यवसायका रुपमा लिएका कारण स्थायित्व कायम हुन नसकेको उल्लेख गरे। “राजनीतिक नेतृत्व मूल भएकाले त्यो सफा नगर्दासम्म कर्मचारीले केही गर्न सक्ने अवस्था छैन,” उनले भने । कार्यक्रममा सहभागी सरकारका पूर्वसचिव बाबुराम आचार्यले कुनैपनि मुलुकको विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै त्यसका लागी राजनीतिक नेतृत्वको नै मुख्य भूमिका रहने बताए । नेपालमा अहिले सत्तामा जानका लागि खुट्टा तान्ने प्रवृतिका कारण राजनीतिले स्थायित्व कायम गर्न नसकेको भनाइ छ । “अहिले देशको अवस्था देख्दा कि छाडेर हिँड्ने, कि आफूले सकेको गर्ने भन्ने मात्र विकल्प छ,” आचार्यले भने । गैरआवासीय नेपाली संस्थाका अध्यक्ष तुल्सी सापकोटाले क्यानाडामा रहेका नेपालीले विश्वमा नेपाललाई चिनाउने कार्यका लागि सक्दो प्रयास गरिरहेको बताए। “विदेशमा रहेका नेपालीले सक्दो प्रयास गरिरहेका भएपनि देशमा स्थायित्व कायम गर्न दलको नै मुख्य भूमिका रहन्छ,” उनले भने। गैरआवासीय संस्थाका पूर्वअध्यक्ष अनिल थापाले सरकार, राजनीतिक दलले विदेशमा रहेका नेपालीले आर्जन गरेको सीप र क्षमता कसरी स्वदेशमा भित्रयाउन सकिन्छ भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्नेमा जोड दिए । समाजसेवी शम्भु धमलाले विकास र समृद्धिका लागि नेपालमा धेरै सम्भावना भएपनि सक्षम नेतृत्वको अभावले देश सँधै गरिबको गरिब नै रहेको बताए । सो कार्यक्रममा शरद पौडेल, अन्जनी भट्टराई र डा बामदेव पौडेलले देशको समृद्धि र विकास समेटिएका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । समितिका सभापति तुल्सी पौडेलले क्यानडामा रहेका नेपालीले विदेशमा आर्जन गरेको सीप, क्षमता र पूँजी स्वदेशमा लगानी गर्न तयार रहेको तर त्यसका लागि सरकार र सम्बन्धित निकायले वातावारण बनाउनुपर्नेमा जोड दिए। समितिका महामन्त्री दीपक सापकोटाले विदेशमा रहेका नेपाली सँधै देशको विकासप्रति चिन्तित रहेको बताए । रासस

Canada nepal

विशेष