देश

नुवाकोट र रसुवामा यातायात ठप्प

नुवाकोट र रसुवामा यातायात ठप्प
असाेज - १४ । नुवाकोट र रसुवामा आफ्नो एकाधिकार तोडिएको विरोधमा पासाङल्हामु यातायात सेवा समितिले शुक्रबार नुवाकोट र रसुवामा यातायात ठप्प पारेको छ । समितिले आफू मातहतका सबै सार्वजनिक बस बन्द गरेको छ भने काठमाडौं केरुङ यातायात प्रालिका बस चल्न दिएको छैन । पासाङल्हामु राजमार्गको काठमाडौं–त्रिशूली–धुन्चे र नुवाकोट र रसुवामा अन्य ग्रामीण सडकमा पासाङल्हामु यातायात सेवा समितिको एकाधिकार तोड्दै एक महिनादेखि काठमाडौं–केरुङ यातायात प्रालिले थप बस सेवा सञ्चालन गरेपछि पासाङल्हामुका बस सञ्चालक विरोधमा उत्रिएका हुन् । शुक्रबार बिहानैदेखि पासाङल्हामु यातायात सेवा समितिका एक सय ५० भन्दा धेरै बस सदरमुकाम विदुरसहित आसपासका सडकमा बस तेस्र्याएर अवरोध गरिरहेका छन् । मुख्य सडकमा अन्य यातायातका साधन सञ्चालन गर्नै नसकिने गरी भएको अवरोधलाई प्रशासनले हटाउनका लागि पहल गरेको छैन । ढुङ्गे, त्रिशूली, बट्टार, पिपलटार क्षेत्रमा बस लाइन लगाएर खडा गरिएको छ । पासाङल्हामु यातायात सेवा समितिका अध्यक्ष कुलबहादुर खड्गीले नयाँ बस सेवा सञ्चालनको अनुमति लिएको केरुङ यातायातले पुराना बससमेत सञ्चालन गरेकाले विरोधमा उत्रनुपरेको बताए। केरुङ यातायात प्रालिका अध्यक्ष किरण रिजालले पासाङल्हामुले एकाधिकार तोडेकाले विरोध भएको बताउँदै केरुङ यातायातले आफ्नो सेवालाई निरन्तरता दिइरहेको जानकारी दिए । वर्षौँदेखि पुराना र थोत्रा गाडी सञ्चालन गर्दै आएको पासाङल्हामुको एकाधिकार तोड्दै केरुङ यातायातले नयाँ डिलक्स बसको सञ्चालन गरेपछि पासाङल्हामु विरोधमा उत्रिएको यात्रुको आरोप छ । नुवाकोटका प्रजिअ विष्णुप्रसाद पोखरेलले सडक रोकेर विरोध गर्ने अधिकार कसैसँग नभएकाले अन्य सवारी साधनलाई गन्तव्यतर्फ पठाउन प्रशासन प्रतिबद्ध रहेको र खुलाउने प्रयास भइरहेको बताए । रासस

nuwakot Rasuwa road permit

विशेष