जन्मिनु त नाफाको सुक्रकीट भएर जहाँ कामकाज केही नहोस केवल क्यालकुलेटरमा ब्याज थुप्रिरहोस्
भौतिक मल्ल
कुनै युद्धमा सहभागी भएर फर्केको सिपाही जस्तै जुत्ता नखोलेर विस्तरामा लम्पसार परिरहेको थिएँ । छोरो नजिकै बसेर मोटु पत्लु कार्टुन हेरिरहेको थियो । त्यतिबेलै लाइन गयो । उसको बिकल्प म भएको ठाउँमा आउनु बाहेक अरु रहेन । छेउमा आएर बस्यो र, मोबाइल माग्यो । मैले दिइनँ । अनि सोध्न थाल्यो “बाबा तपाई काठमाण्डौ किन बस्नुहुन्छ,? घर किन्नुभएको छ र कहाँ बस्नु हुन्छ ? अनि हामीलाई हेरविचार गर्न छाडेर सधैं बाहिर घुमिरहनुहुन्छ, तपाईलाई हाम्रो माया लाग्दैन् र ? पैसा कति कमाउनु भयो ? के सधैंभरि हामीलाई राम्रो लुगा र मीठो खाना किन्न सक्नुहुन्छ त ? जाडो लाग्यो हेर्नुसन ममले जकेट पनि किन्नु हुन्न साथीहरुले नयाँ नयाँ जकेट लगाएर आउचन अनि म पोहर सालको पुरानो लगाएर जान्छु ।’
उसका धाराप्रवाह प्रश्नहरु अैंठन ल्याउने गरी आइरहेका थिए । तर, सुन्नुको विकल्प थिएन । ‘बाबा भविष्यमा हामीलाई के बनाउँछु भन्ने योजना छ ?’ आफु नै के बन्छु भन्ने ठेगान नभएको मेरा लागि छोराको यो प्रश्न कठोर बनेर तेर्सियो ।
धेरै लामो समयपछिको भेटमा छोराले नानाभाँती प्रश्नहरु तेर्साइरहेको छ । मानौ उ पत्रकार हो, म अन्तवार्ता दिन पुगेको अतिथि हुँ । शुरुमा त लाग्यो, आमाले क्लास राम्रै दिएकी रैछिन् ‘बाबा घरमा आएपछि यी यी कुराहरु सोध्नु’ भनेर । बेडमा लखतरान पल्टिरहेको छु । मसंगै छोरो पनि पल्टीएको छ । खै किन किन उ मलाई छोडन मानिरहेको छैन । उसको आत्मियताको अनौठो तरंग अनुभव गरिरहेको छु । उ पहिलेभन्दा फरक भइसकेको रहेछ । समय दिनहुँ एकपछि अर्को ढंगले घर्किरहेको छ । समास्याहरु ज्यँका त्युं छन् । उमेरले बिस्तारै नेटो काट्दैछ । केही गर्ने उमेरमा परिस्थिति त्यस्तै भयो, नेताहरुको भरौटे बनेर हिंडियो । अहिले न उमेर साथमा छ न कुनै उपलब्धी नै । फेरिपनि कसैको भरौटे बन्नुको बिकल्प छैन । आमा र बुबाका पाखुरीले कमाएको सम्पत्तिको टुक्रा छोराछोरीलाई हुर्काउँदा, लालनपालन गर्दा र मान्छे जस्तै मान्छे गराउने प्रयत्नमा सिद्धिसकेको छ ।
हामीलाई पढाउँदा बुवा र आमाका गाला चाउरी परीसकेका छन् । शरीर हड्डीमा परिणत भइसकेको छ । जीवनको उतराद्र्धमा आउँदा जुन खुशी छाउनु पर्ने हो, अँह त्यसको कल्पना पनि बाँकी रहेन ।
हामीलाई पढाउँदा हुर्काउँदा बुबाआमाको अवस्था जीर्ण भइसकेको थियो उहिल्यै । सपनासँगै सबथोक सिद्धिन लागिसकेको थियो । ऋणको भार थपिरहेको थियो । हजारे साहुदेखी लाखे साहुहरु दिनुहँ ढोका ढकढक्याइरहेका थिए । कयौँ आफन्तहरुसंग त्यही ऋणका कारण सम्बन्धमा खटपट सम्मा आइसकेको थियो । बिस्तारै सबैबाट एक्लिएको भान हुन थालिसकेको थियो । बुवाले पनि दिनहुँ झटारो हानिरहनु हुन्थ्यो । घरभरी तन्नेरी छोराहरु छन । यसको फल हो घरभरी ऋण ।
के गर्ने आफना पालामा एक चिम्टी कसैबाट ऋणको चौटौ प्रयोग गरिएको थिएन । उमेरको फल विवाह पनि गरियो, विवाह गरेको पनि आधा दशक पार भइसक्यो । पहिला-पहिला मनु भन्थिन् ‘हामीले केही गर्नुपर्छ । खाली बस्नु हुन्न ।’ बिस्तारै घरको स्थिति बुझदै गइन् । हिजोआज केही भन्दिनन् । बरु आफैले केही पेशा,व्यवसाय गरेर घर चलाउछु भन्नेमा पुगेकी हुनुपर्छ ।
मनुको भाव प्रस्टै बुझिन्छ, ‘हामीले माइतीको सहयोगमा भएपनि केहि गर्नुपर्छ ।’ भएका गरगहना पनि बेच्दै खाइसकियो तर उनको नाईँ नास्ती कहिल्यै भएन । सम्पन्न परिवारकी भए पनि उनले मसँग सम्पन्नताको अनुभुति गर्न पाइनन् । उनमा माइतीको अहँकार पनि कहिल्यै भएन र थिएन । त्यसैले होला उनले मलाई आफ्नी बनाएको ।
गाउँले गरिब परिवारमा जन्मेका कारण मेरा निम्ति आफ्नै जीवन नितान्तै कठीन र चुनौतिपूर्ण बन्दै थियो । सम्पत्तिका नाममा एउटा दुहुना भैँसी, एकहल गोरु केही कुखुराका भालेपोथी (चल्ला) र दूईवटा कुकुर । पहाडी भु(भागमा एक(दुई हल मेलो भएको मकैबारी र खेत बाहेक अरु केही थिएन ।
गरीब परिवार भन्नुको प्रमाण हुन यी । पानी पिउने स्टील र पितलका अम्खोरा भने अहिले सम्म सुरक्षित छन् । चुलोमा एउटा प्वाल परेको तावा जतिबेला पनि उभिरहेकै हुन्छ । जतिबेला गए पनि परिवारको प्रतिष्ठा बढाउने तामाको ताउलो र तामाको गाग्री पनि सुरक्षित छन् । पित्तलको अङखोरा अहिलेसम्म चुलाको आडमा उभिएकै छ, जस्तो म उभिएको छु । अस्ती मन्त्रीहरुले आफ्नो सम्पत्ति विवरण बुझाउँदा मलाई घरको छानोमा गएर गाँउभरीका मान्छेले सुन्ने गरी डाँको छाडेर रून मन लागिरहेको थियो । तर परिवेश त्यस्तो थिएन । कोठाभित्र गएर मन शान्त बनाएँ । अपमानको जगमा अट्टाहस कोलाहलता थपेर सेक्सको अपिल गरिरहेकी जस्ती लाग्ने सरकारी एक कर्मचारीको व्यवहार देख्दा सोझै हतौडाले हुत्याइदिंउ जस्तो रिस उठेको थियो । सायद ती नायब सुब्बा हुन् वा खरदार मलाई थाहा छैन, छि : छि गर्दै नाक खुँम्च्याउदै सम्पती विवरण भरिरहेकी थिइन् । कम्ति पीडा भएको थिएन त्यो दिन मलाई ।
आज छोराको एकहुल प्रश्नहरुले गम्भीर बनाइदिएको छ । अर्को मनले सोचें, आमाको प्रभावमा परेर यस्तो प्रश्न गरेको होला, नत्र कहाँ यसले यति सोध्नु यार ? छोराले पुनः त्यही प्रश्न दोर्होयायो ‘बाबा भन्नुहोस् न प्लिज, हाम्रो घर कहाँ छ ? अंकलहरु खै ? साइला अँकल कहाँ जानु भयो ? कहिले आउनु हन्छ ? कान्छा र माइला अँकल त आउनै छाडनु भयो ? अचेल उहाँहरु पनि आउनु हुन्न, मलाई सबैले माया मार्नु भयो क्यार ?’ छोरो बडो अजिब ढंगले प्रस्तुत भएको जस्तो लाग्दै छ ।
‘हेर ममित बिहे गर्नुभन्दा अगाडि मैले तिम्री आमालाई भनेको थिएँ । मेरो सम्पत्ति नाक, आँखा ,कान, मुख, दाँत, कपाल, हातखुट्टामात्रै हुन । सम्पतीको नाममा यहि एउटा हाड र छालाको अस्थीपञ्जर बाहेक अरु केही छैन भनेर ।
यो झोलामा सिरिफ जीवनका हिसाब किताबहरु राखूँला भनेर एउटा पुरानो डायरी र कलम मात्र छ । मलाई पुरानो जीवनको माया लागेर आउँछ प्रिय ! ममित बिहे गर्नुभन्दा अगाडि मैले तिम्री आमालाई भनेको थिएँ । मेरो सम्पतीको नाममा शरिरमा भएका अस्थीपन्जर मात्रै हुन । गाँउको घरमा के सम्पत्ति हुन्छ यार ? सबैलाई थाहा छ । कान्ला बारी र खोरीया खन्ने हो । मकै,जौँ फलाउने हो,घर नजिकै घट्ट छ । आटो पीठो पिस्ने हो । मजाले पाखुरी बजारेर खाने हो । यसरी नै जिबिका चलाउने हो । राजीखुसी छ भने बिहे गरौं, होइन भने ठिकै छ । तिम्री आमा राजीखुसी भएपछि मात्रै बिहे गरेका हौँ र तिमी जन्मियाँै, त्यसैले तिम्रो नाम मेरो र तिम्रो आमाको नामको मिलन बिन्दुबाट ममित राखिदिएको हुँ ।’ उ खिस्स हाँस्यो ।
अस्ति भर्खरजस्तो लाग्छ, यो फुच्चेलाई अँगालोेमा राखेर तातेताते गराउँदै बाबा भन्ने शब्द बोल्न सिकाएको । आफ्नै ज्याकेटभित्र राखेर न्यानो तोतेबोली सिकाएको । कति छिटै प्रश्न सोध्ने भयो यार खै ? बिहे हुनुभन्दा पहिले सेक्सभन्दा पनि सन्तानको कल्पनामा रमाइरहेको हुन्थें । सपनामा भावी सन्तानको अनुहार देख्ने मनुष्य संसारमा केवल मै मात्र हुँ कि जस्तो पनि लाग्थ्यो कहिलेकाँही । बच्चाहरुलाई अति माया गर्ने स्वभावका कारण हुनसक्छ, दोकानमा कतै पुतली र गुडियाहरु देख्दा एकटकले हेरिरहन्थें । त्यसैले म मेरो ममितलाई धेरै माया गर्छु । ‘लाटा आइ लभ यु ।’ गालामा म्याइ खाएँ ।हुनत म जे छु, ठीक छु । म गलत भएँ भने मानव जीवनको सभ्यता नै गलत हुनेछ । बहुकोषिय जीवहरुको सभ्यता एक एक धरासयी हुनेछ ।
आज भन्न चाहान्छु , छोराले प्रश्न सोधोस् तर बाबाले बनाएको घर नसोधोस्, मायाको आयातन नसोधोस, मेरो ममितले यो नसोधोस्् ‘बाबा घर कहाँ बनाउनु भयो ? हामीलाई छोडेर किन बाहीर-बाहीर घुम्नु हुन्छ ।’ भुलेर पनि कहिल्यै नसोधोस् ‘पैसा कति कमाउनु भयो ?’ तर यो कुरा प्रस्ट बुझोस् संसारमा धनी र गरिब दुबै मानिसहरु हुन्छन् भन्ने कुरा सजिलै बुझोस् । मेरो बाबा कुनै राजा महाराजाको छोरा नभएर एक शिस्ट मनुस्यको सन्तान हुन् भन्ने थाहा पाओस् ।
बाबालाई लोकबाट परीक्षणका लागि पृथ्वीमा ल्याइएको होइन भन्ने बुझोस् । हुनत सम्मानको भावमा हजुर भन्नु र डरका कारण हजुर भन्नु उस्तै त होइन । तर, छोराले अझै प्रश्न गर्न छाडेको छैन । म विनम्रताका साथ जवाफ दिन्छु ‘काठमाण्डौं बस्छु, तर अर्कैको घर भाडामा हिरासत जस्तै लाग्ने कोठा छ । तिमीलाई हेरविचार गर्न छाडें भने सम्झ बाबा हर्टटयाक भएर मरिसक्यो । कहिलेकाहीं सार्वजानिक गाडी चढ्ने भाडा त हुन्न बाबासँग,अरु बाबाको निजी गाडी घोडाको कल्पना नगर्नु ।
घरमा बस्दाको समयमा लेखपढ गर्छु तर कुनै स्कुलमा पढाउने क्षमता र हैसियत राख्दिनँ । बैंक ब्यालेन्सको कुराभन्दा कुनै बैंकमा बाबाको खाता छैन । तर पनि किनिदिन्छु संसारका सबै सुन्दर चिजहरु तिम्रा पोल्टाभरी तर गोजीमा सुको छैन । किनिदिन्छु तिम्रा लागि मिठा सपनाहरु । मीठो-मीठो खुवाउँछु, मेरो ममित । भविश्यमा तिमीलाई ठूलो मान्छे बनाउँछु । योे मेरो सपना हो ।
छोराले बाबालाई बुझेझैँ आँखा चिम्लिन्छ । छोराले आँखा चिम्लिदा मेरो मगजको ढक्कन उघारिन्छ । परिवार ठूलो कि देश ठूलो भन्दाभन्दै जीवनको मध्यविन्दुमा आइपुगियो । मलाई थाहा छ । वाल्यकालको मष्तिस्क प्रश्नहरुको विशाल कारखाना हो । उ पनि त्यही भावना, विचार, प्रेम र सम्भावनाबाट निर्दे्शित छ ।
कसम मनु ? छोराका कैयौं प्रश्नहरुलाई सम्वोधन गर्न अब उप्रान्त जीवनको नयाँ पाठ सुरुवात गर्नेछुु, जुन पाठमा जीवनका बिज गणित हैन, अङ्क गणितहरु समेटिएका हुन् । ‘यो माथिको भिष्मेले नबस मेरो घरमा तेरा घर जा भन्छ ? यो मेरो घर हो भन्छ बाबा अब हामी आफनो घरमा जानु पर्छ है । कति अरुकै घरमा बस्ने ?’ छोराको यी प्रश्नहरुले मनमा बाढी पहिरो ल्याएको छ । आज धेरै समय पछि पत्थर रसाएको छ । आँखाबाट एक हुल आँसुका ढिस्कानाहरु निर्वाद झरेका छन । छोराको प्रश्नको उत्तर दिन हम्मे हम्मे भएको छ ।
उ बिस्तारै ठूला हुँदै गएको छ र उसका सपनाहरु पनि ठुला हुँदै गएका छन् । सबै थोक थाह पाउने भइसकेको छ । हामी त अरुकै घरमा बहालमा बसेका रहेछौँ भन्ने थाह पाउन थालीसक्यो । अनि उसमा खुल्दुली बड्न थालिसकेको छ । संधैजसो आमालाई हाम्रो घर कहाँ छ भनेर सोध्दा ‘यो प्रश्न बुवालाई सोध्नु’ भन्ने उत्तरबाट आक्रान्त बनिसकेको छोराले एकदिन मलाई ‘बाबा हाम्रो घर कहाँ छ ?’ भनेर सोध्नु अपराध थिएन । अपराध त त्यो थियो : छोराले घर सोधुन्जेल आफनो घरको ठेगान नहुने बाबाको जिन्दगी र भागोइ । जीवनको सबैभन्दा ठूलो संकट यतिबेला परेको छ मलाई ।
vautik malla