ठूलो भर्याङमाबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी काम
पुस–१७ । स्वयम्भूको ठूलो भर्याङबाट पनि सवारी चालक अनुमतिपत्रसम्बन्धी काम सुरु भएको छ ।
यातायात व्यवस्था विभागले अार्इतबारदेखि ठूलो भर्याङमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र वाग्मतीको सेवा विस्तार गरेको हो । कार्यालयको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले यही पुस २७ गतेदेखि चाबहिल र भक्तपुरको जगातीमा पनि कार्यालय खोलिने जानकारी दिए ।
“एकान्तकुनामा मात्र रहेको वाग्मती अञ्चल कार्यालयलाई तीन स्थानमा विस्तार गरेपछि सवारी चालक अनुमतिपत्रको आवेदन फाराम भर्न र नवीकरण गर्न मध्यरातदेखि लामबद्ध हुनुपर्ने समस्या हट्नेछ, कार्यालयका कर्मचारी साथीहरुले समयमै सेवाग्राहीको काम गरिदिएर भिड अन्त गर्नुहुने विश्वास छ”, उनले भने ।
कार्यालयमा सोमबारदेखि सवारी चालक अनुमतिपत्र नवीकरण गरिने र एक हप्तापछि नयाँ अनुमति पत्र लिन आवेदन दिन सकिने कार्यालय प्रमुख वीरेन्द्र स्वाँरले बताए ।
अनुमतिपत्र लिन सेवाग्राहीको भिड बढेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालयलाई कार्यालय थप गर्न तीन महिनाअघि निर्देशन दिएको थियो । निर्देशनानुसार खुलेको सो कार्यालयको मासिक भाडा रु एक लाख ३९ हजार पर्नेछ । चाबहिल र जगातीमा पनि घर भाडामै लिएर कार्यालय खोल्न लागिएको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।
नयाँ खुल्ने कार्यालयमा नयाँ अनुमतिपत्र लिन आवेदन फाराम भर्नेको परीक्षासमेत लिन सकिने व्यवस्था छ । विभागले एक साताअघिदेखि सवारी चालक अनुमतिपत्रको फाराम अनलाइनबाटै भर्न सकिने सेवाको सुरुआत गरेको छ । विभागले एक वर्षअघिदेखि स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण सुरु गरेको थियो । रासस
यातायात व्यवस्था विभाग
सवारी चालक अनुमतिपत्र
स्वयम्भू