समाज

पश्चिमी वायुको प्रभावबाट जाडो वृद्धि

पश्चिमी वायुको प्रभावबाट जाडो वृद्धि
पुस–१७ । भूमध्यसागरबाट आएको पश्चिमी वायु प्रणालीको प्रभावले राजधानीलगायत मुलुकभर मौसम बदली भई चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले मौसममा आएको परिवर्तनले सोमबारसम्म अधिकतम तापक्रम घट्ने र फाट्टफुट्ट पानी पर्ने जनाएको छ । विभागका मौसमविद् सुवास रिमालले भने, “मौसम बदलीका कारण आइतबार र सोमबार चिसो बढ्छ, मङ्गलबार मात्र मौसममा सुधार आउने देखिन्छ । ” काठमाडौँको न्यूनतम तापक्रममा खासै असर नपरे पनि अधिकतम तापक्रम घटेर १९.५ सेन्टिग्रेड पुगेको विभागको अनुमान छ । पश्चिम क्षेत्रमा भने सोमबारदेखि नै मौसममा सुधार आउने सङ्केत देखिएको छ । हिउँदमा भूमध्यसागरबाट पश्चिमी न्यूनचापीय क्षेत्रको असरले जलवाष्प इरान, अफगानिस्तान, पाकिस्तान, पश्चिम भारत हुँदै नेपालमा बहन्छ । जलवाष्पका कारण मुलुकको पश्चिम क्षेत्रमा शनिबार बिहानैदेखि र केन्द्र तथा पूर्वी क्षेत्रमा दिउँसोदेखि मौसम बदली भएको मौसमविद् रिमालले बताए । शनिबार उच्च हिमाली क्षेत्रमा हिमपात भएको र राजधानीमा ०.१ मिलिमिटर वर्षा भएको थियो भने अझै फाट्टफुट्ट पानी पर्ने सम्भावना छ । रासस

जल तथा मौसम विज्ञान विभाग मौसम बदली

विशेष