खेल

इतिहास रच्न आतुर नेपाली महिला फूटबल टोली

इतिहास रच्न आतुर नेपाली महिला फूटबल टोली

पुस १८ । साफ महिला फुटबल च्याम्पियनसिपको अघिल्लो तीन संस्करणमा फाइनलमा भारतसँग पराजित भएको नेपाल अर्को ऐतिहासिक भीडन्तका लागि तयार भएको छ ।

नेपाली महिला फुटबल टोली सोमबार भारतको पश्चिम बंगालस्थित सिलिगुढीको कञ्चनजंघा रंगशालामा पहिलो सेमिफाइनलअन्तर्गत भारतसँग नेपाली समयअनुसार दिउँसो २ बजेर १५ मिनेटमा भिड्दैछ।

यसअघि नेपाल र भारतबीच ७ पटक भिडन्त भइसकेको छ । जसमा नेपालले एक पल्ट मात्र खेललाई बराबरीमा रोकेको छ । बाँकी ६ खेलमा पराजय भोगेको छ । यसमध्ये पनि ५ खेलमा नेपाल फाइनलमा पराजित भएको थियो ।सन् २०१० देखि सुरू भएको साफ महिला च्याम्पियनसिपको अघिल्लो तीन संस्करण र दक्षिण एसियाली खेलकुदको दुई वटा संस्करणमा पनि नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो ।

यस अर्थमा नेपालका लागि सोमबारको खेल ऐतिहासिक मानिएको छ । नेपाली प्रशिक्षक कुमार थापा पनि भारतविरुद्धको सेमिफाइनल खेललाई ऐतिहासिक मान्छन् । पहिलो पल्ट महिला राष्ट्रिय टोलीलाई प्रशिक्षित गरेका कुमारको नेतृत्वमा समूह चरणको खेलमा नेपालले भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० र श्रीलंकालाई १–० ले पराजित गरेको थियो।

नेपाली युवती सावित्रा भण्डारीले भुटानविरुद्ध दोहोरो ह्याट्रिक र माल्दिभ्सविरुद्ध ५ गोल गर्दै तहल्का पिटेकी छिन् भने अन्य खेलाडीको खेलबाट पनि स्थानीय दर्शकहरु लोभिएका छन्। विगतको तुलनामा यसपाली नेपालको आक्रमण जबरदस्त देखिन्छ। विङबाट पनि नेपालले गतिलो प्रहार गरेको छ । गीता राणाको डिफेन्स लाइन–अपबाट पनि नेपालले थुप्रै आशा राखेको छ ।

‘भारत र नेपाल जहिले पनि फाइनल खेलिरहेको टिम हो। यसपाली हामी सेमिफाइनलमा भिड्दै छौं। तर, हाम्रा खेलाडीले जुन किसिमको प्रदर्शन गरेका छन्। यसबाट इतिहास रच्ने कुरामा म ढुक्क छु’, नेपाली खेलाडीको बदलिएको मानसिकताबाट उत्साही देखिएका प्रशिक्षक कुमार थापाले भने ।

भारतले समूह चरणको खेलमा अफगानिस्तानलाई ५–१ ले पराजित गरेको थियो । तर, बंगलादेशले आयोजक भारतलाई उसैको घरेलु मैदानमा दोस्रो खेलमा गोलरहित बराबरीमा रोकेको थियो । पहिलो पल्ट भारत समूह उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनलमा नेपालसँगको सम्भावित भिड्न्तलाई टार्न बंगलादेश र भारतले कडा प्रतिस्पर्धा गरेका थिए ।

प्रशिक्षक कुमार थापा भारतका यी तीन खेलाडीबाहेक विङबाट खेलिरहेका थप ४ खेलाडी पनि नेपालका लागि खतरनाक हुन सक्ने बताउँछन् । तर, उनी आफ्नो दृष्टी गोल हान्न मै केन्द्रीत रहने औल्याउँछन् । ‘यस प्रतियोगितामा हाम्रा खेलाडीले पनि विङ र बीचबाट राम्रो प्रहार गरेका छन् । स्ट्राइकरमा कुनै समस्या छैन,’ कुमारले भने ।

भारतीय खेमामा नेपाली स्ट्राइकर सावित्रालाई लिएर जबरदस्त दबाबको स्थिति छ । उनलाई रोक्न भारतीय टोलीले विशेष योजना बनाएको प्रशिक्षक धर बताउछन्। ‘ऊ राम्रो स्ट्राइकर हो । उसलाई कसरी रोक्ने भन्ने विषयमा हामीले रणनीति बनाएका छौं,’ प्रशिक्षक धरले भने।

नेपाली कप्तान रेनुका नगरकोटीले पनि सोमबारको खेलमा भारतलाई कडा टक्कर दिने बताइन् । ‘विगतको नतिजा के छ ? त्यो हाम्रो सरोकारको विषय होइन् । अहिले टिम पुरै नयाँ छ । र, यतिबेला हामीले नतिजा पनि राम्रो दिइरहेका छौं,’ कप्तान रेनुकाले भनिन् । हाल नेपाली टोलीमा सात नयाँ अनुहार छन् । प्रशिक्षक कुमारले पनि हरेक खेलमा प्रयोग गरिरहेका छन् । जुन सफल पनि साबित भएको छ । भारतविरुद्धको खेलमा पनि २ खेलाडी परिवर्तन हुन सक्ने उनले बताए ।

Woman Football

विशेष