देश

तेह्रथुमः व्यावसायिक बन्दै गाउँका महिला

तेह्रथुमः व्यावसायिक बन्दै गाउँका महिला
पुस - १८ । तेह्रथुमका दक्षिणी भेगका ग्रामिण महिला व्यावसायिक बनेर आत्मनिर्भर बन्न थालेका छन् । छथर क्षेत्रमापर्ने हमरजुङ, सुदाप, ओख्रे, फाक्चामारा र पञ्चकन्या गाविसका महिला अदुवा, अकबरे खुर्सानी, तरकारीखेती र ढाका बुनाइ तर्फ आकर्षित भएका हुन् । महिलाको क्षमता अभिवृद्धि गर्दै उनीहरुलाई आर्थिकरुपमा समेत आत्मनिर्भर बनाउन बस्ती÷बस्तीमा महिला समूह गठन गर्दै आर्थिक उन्नतिका लागि कार्यक्रम लागू भएपछि महिलाको आर्थिकस्तर बढेको हो । घरभित्रको चुलो चौकोमा सीमित महिला पनि पुरुष जस्तै पेसा व्यवसाय गरेर मनग्ये आम्दानी गर्न थालेपछि गाउँमा महिला हिंसा भएका घटनासमेत त्यति सुनिन्दैनन् । गाउँमा गठन भएका महिला समूहमा उनीहरुले आफ्नो क्षमता र रुचि अनुसारको व्यवसाय छनोट गरी तालिमसमेत लिएर एक्लै तथा सामूहिक रुपमा व्यावसायिक कार्य गर्दै आएका छन् । उनीहरुलाई समूह गठनदेखि सचेतीकरण, तालिम र खेती प्रविधि सिकाएर व्यवसाय गर्न तथा उत्पादित बस्तुको बजार व्यवस्थापन गर्नसम्म दलित सचेतना समाज (ड्यास) नेपाल नामक गैरसरकारी संस्थाले सहयोग गरेको छ । महिलाले ठाउँ र सम्भावनालाई समेत हेरेर व्यवसाय सुरु गरेका छन् । यी पाँच गाविसका विपन्न बस्तीमा १९ वटा महिला समूह गठन गरिएका छन् । हरेक समूहमा आवद्ध ३० देखि ४० महिलाले आफ्नो रुचि अनुसारका फरक÷फरक तर व्यावसायिक रुपमा खेती गर्दै आएका छन् । तमोर नदीसँग जोडिएको पानी कम हुने फाक्चामारामा कृषिजन्य उत्पादनको सम्भावना नदेखर महिलाले सामूहिक रुपमा ढाका व्यवसाय सुरु गरेका छन् । सोही गाविसका माथिल्लो बस्तीका महिलाले अकबरे खुर्सानी र अदुवाको खेती गर्दै आएका छन् । यस्तै सुदाप र ओख्रेमा गठन भएका विभिन्न समूहका महिलाले अकबरे खुर्सानी र अदुवाको व्यावसायिक खेती गरिहेका छन् । ओख्रेकै केही महिलाले बङ्गुरपालन समेत सुरु गरेका छन् । बङ्गुरपालनका लागि अनुदानमा पाएको रु चार हजार ५०० ले दुईवटा पाठा किनेर पाल्नुभएकी आखे्र– ८ की बुधमाया बराइलीले एक वर्षमा २५ हजार रुपैयाँ आम्दानी गरिरहेकी छन्। यस्तै अदुवा र अकबरे खुर्सानीबाट पनि यहाँका महिलाले वार्षिक रु पाँच हजारदेखि रु ५० हजारसम्म आम्दानी गरिरहेका छन् । ढाकाबाट पनि मासिक रु १० हजार कमाउने गरेको हमरजुङ्की शुष्मा कार्कीले बताइन् । हातमा सीप भएपछि धेरै आम्दानी नभए पनि आत्मनिर्भर हुँदा धेरै खुसी रहेको उनले बताइन् । अदुवा, खुर्सानी र तरकारी खेतीका लागि समूहलाई ड्यासले छुट्टछट्टै तालिमको आयोजना गरी प्रविधि सिकाउने व्यवस्था गरेको थियो । ढाकाका लागि लामो समयसम्म सिक्नुपर्ने भएपछि शुक्रबारे बजारमा तालिम केन्द्रकै रुपमा प्रशिक्षक राखेर निरन्तर तालिम समेत भइरहेको छ । अहिलेसम्म साढे तीन सय भन्दा बढी महिलाले ढाका तालिम लिइसकेको ड्यासका कार्यक्रम संयोजक पुष्पा कार्कीले बताइन् । कुन व्यवसायमा कति महिला आवद्ध छन् भन्ने तथ्याङ्क नभए पनि समूहमा आवद्ध ५५९ महिलाले कुनै न कुनै व्यावसायिक पेसा अपनाएको ड्यास नेपालका निर्देशक कुमार विशङखेले बताए । महिलाले गरेको व्यावसायिक खेती तथा व्यवसायबाट उत्पादित बस्तुको बजार प्रबद्र्धनका लागि समेत आफूहरुले पहल गर्दै आएको उनले जानकारी दिए । महिलाले आम्दानी गर्न थालेपछि बचतका लागि सहकारी समेत गाउँमै खोलेका छन् । नजिकमा अन्य वित्तीय संस्था नभएका यी दुर्गम गाविसमा महिलाकै नेतृत्वमा अहिलेसम्म दुईवटा सहकारी खुलिसकेका छन् । सहकारीमा दुई सय भन्दा बढी महिला आबद्ध छन् । रासस

तेह्रथुम

विशेष