समाज

हिमाली बस्तीमा बाक्लो हिमपात

हिमाली बस्तीमा बाक्लो हिमपात
पुस–१८ । शनिबार साँझबाट हिमपात सुरु भएको सोलुखुम्बुको हिमाली बस्तीमा साेमबार निकै बाक्लो हिमपात भएको छ । आइतबार पनि डाँडापाखा सेताम्मे हुने गरी हिमपात भएको थियो । बस्तीमै एकदेखि दुई फिटसम्म हिउँ जमेको खुम्जुङ–४ का ङातेम्बा शेर्पाले बताए । खुम्बु क्षेत्रमा रहेका नाम्चे, खुम्जुङ र चौँरीखर्कका अधिकांश बस्तीमा बिहानबाट वर्षासँगै परेको हिउँले सेताम्मे भएको छ भने जिल्लाको सदरमुकाम सल्लेरीमा पनि हिमपात भएको छ । दूधकुण्ड नगरपालिकाको विभिन्न डाँडाकाँडा साथै जिल्लाको हिमाली बस्तीमा पर्ने १६ भन्दा बढी गाविसका डाँडापाखा हिउँले ढाकिएका छन् । हिउँ परेसँगै अहिले सदरमुकाम सल्लेरीको तापक्रम माइनस ३ डिग्री सेल्सियसमा झरेको सल्लेरीस्थित मौसम अवलोकन केन्द्रले जनाएको छ । उता नाम्चेको तापक्रम भने माइनस छ डिग्रीभन्दा पनि तल झरेको इलाका प्रहरी कार्यालय, नाम्चेले जनाएको छ । हिमपातसँगै अत्यधिक चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । चिसोका कारण सदरमुकाम सल्लेरीलगायत हिमाली बस्तीका बासिन्दा अहिले घर बाहिर निस्कन सकेका छैनन् । यसैबीच सोलुखुम्बुमा तीन महिनापछि पानी पर्दा कृषक भने खुसी भएका छन् । असोज दोस्रो सातापछि हालसम्म पानी परेको छैन् । “हाम्रो त गहुँ, जौलगायतका हिउँदे बाली सुक्न लागेको थियो, पानी पर्दा अति खुसी भएका छौँ” – वाकुका कृषक कुवीर राईले भने । यस्तै अलैँचीको पकेट क्षेत्रका रुपमा चिनिएका चौलाखर्कका अलैँची कृषक हेमन्त बस्नेतले पनि सिँचाइ सुविधा कम भएको स्थानमा सुक्न लागेको अलैँचीका लागि यो पानी अमृत बराबर हुने बताए । रासस

सोलुखुम्बु हिमपात

विशेष