पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात, मङ्गलबारदेखि क्रमिक रुपमा सुधार हुने
पुस - १८ । पश्चिमी वायुको प्रभावले आजपनि देशका विभिन्न भेगमा मौसम बद्लीसँगै हल्का वर्षा र हिमपात भएको छ । पश्चिम नेपालबाट आइतबार प्रवेश गरेको उक्त वायुको प्रभावले पश्चिमको पहाडी भेग तथा मध्य र पूर्वका सबै स्थानमा बद्ली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
ती क्षेत्रमा सोमबार राति हल्का वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिए । “पश्चिमका पहाडी भेग र मध्य र पूर्वका केही स्थानमा वर्षा हुनेछ, हिमाली क्षेत्रमा हिमपात हुने देखिएको छ, मङ्गलबार पनि मध्य र पूर्वी पहाडी भेगमा बद्ली हुनेछ,”–उनले भने । मौसमविद् कँडेलका अनुसार पश्चिमी वायु आज देशको मध्य भेग हुँदै पूर्वतर्फ अघि बढिरहेकाले मङ्गलबारदेखि क्रमिक रुपमा सुधार हुनेछ ।
पश्चिमी वायुको प्रभावसँगै न्यूनचापीय क्षेत्रको विकास हुँदा देशको मौसममा खराबी आएको हो । मौसम बद्लीसँगै कतिपय स्थानमा वर्षा र हिमपात भएपछि काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ भने तराई भेगमा बाक्लो कुहिरो लागेको छ । आज साँझ काठमाडौँमा फाट्टफुट्ट वर्षात पनि भएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज सबैभन्दा बढी जिरीमा ५.१, ओखलढुङ्गामा ३.८ र लुम्लेमा १.७ मिलिमिटर वर्षात भएको छ । दीपायलमा ०.६ र जुम्लामा ०.३ मिमि वर्षात भएको छ । आज काठमाडौँको न्यूनतम २.६ र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जिरीमा ऋणात्मक २ र सबैभन्दा बढी सिमरामा २७.५ डिग्री तापक्रम रहेको महाशाखाले जनाएको छ ।
मौसम