पानीमा पनि झेलः पहुँचवालाको घरमा दिनहुँ पानी, अन्त हाहाकार
पुस १९ । काठमाडौं उपत्यकामा खानेपानीको चरम अभाव भएको वर्षौ बितिसक्यो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले हप्तामा दुई दिन पानी वितरण गर्छ । खानेपानीको यस्तो काकाकुलस्थितिमा पनि चलखेल हुने गरेको सूचना प्राप्त भएको छ ।
खानेपानीको चरम अभावमा पनि पहुँचवालाहरुलाई नियमितजसो पानी वितरण हुने गरेको स्रोतको दाबी छ । खानेपानीका एक उच्च अधिकृतले नै यसबारे नेपालआजलाई जानकारी दिँदै भने, ‘विभिन्न तरिकाले खानेपानीको असमान वितरण गर्न सकिन्छ । र काठमाडौं उपत्यकामा त वर्षौदेखि भइरहेको छ ।’
त्यो कसरी सम्भव छ ? उनले भने, ‘कुनै एक घरका लागि भनेर गर्न गाह्रो हुन्छ । तर एउटा क्षेत्रका लागि सम्भव छ । पानीको फ्लो रेगुलेटिङ भल्भलई प्राविधिकहरुले मिलाइदिन्छन् । जसका कारण कुनै एक क्षेत्रमा पानी नियमित जाने, अर्को तिर नजाने बनाइन्छ ।’
अर्को विधि भनेको रिजर्वायरबाटै नयाँ लाइन निकालेर सम्बन्धित घरसम्म पुर्याउन सकिन्छ । त्यो पनि काठमाडौंमा भइरहेको छ । मर्मतकालागि फिल्डमा खटिने प्राविधिकहरुलाई चिया नास्ता खर्च भनेर दुई चार सय रुपैयाँ दिएकै भरमा पनि भल्भ रेगुलेसनमा फेरबदल गरिदिन्छन् ।
स्रोत भन्छ, ‘माथिल्ले तहबाट पनि हुन्छ, तल्लो तहबाट पनि हुन्छ । भइरहेको छ । यो कुनै नयाँ कुरा होइन ।’ स्रोतले नयाँ विषय होइन भने पनि यसखाले विषय यस अघि आएको थिएन । स्रोत भन्छ्, ‘विद्युत प्राधिकरणमा कुलमान घिसिङ आउनुअघि अध्याँरो बेच्नेहरु यति सक्रिय छन् भन्ने कुरा आएको थियो ? ’
बिजुलीमा झै पानीमा पनि अनियमितता गर्नेहरुका कारण यो हदसम्मको अभाव भएको हो । भएको पानी कतै धेरै कतै नाममात्रैको पठाउँदा आपूर्ति कम देखिएको छ ।
जसलाई मिलेमतोमा नियमित पानी उपलब्ध गराइन्छ, त्यो पानीको हिसाब आपूर्तिमा राखिन्न । चुहावटमा राखिन्छ । जसले चुहावटको प्रतिशत धेरै देखिन्छ । अहिले ३० प्रतिशत पानी चुहावट हने गरेको बताइन्छ । भएकै पानीलाइै पनि समानुपतिक वितरणको व्यवस्था मिलाउने हो भने पानीको अभावमा अलिकति भए पनि राहत पुग्न सक्छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड भने यस्तो अनियमित ढंगले वितरण भएको स्वीकार गर्दैन । संस्थाका महाप्रबन्धक डा. महेश भट्टराई भन्छन्, ‘पहुँचवालाहरु एकै ठाउँमा बस्दैनन् । फरक फरक ठाउँमा त्यसरी पानी दिन सकिँदैन । सकियो भने त पानीको अभाव नै हट्छ ।’
उनले भल्भ रेगुलेसनमा गडबडी गरेर पानीमा चलखेल गर्न सकिने चाहिँ स्वीकारे । उनले भने, ‘त्यस्तो गर्नै नसकिने भन्ने हुँदैन । तर कुन क्षेत्रमा पानी बढी गयो देखाइदिनुस्, म नियमित गरिदिन्छु ।’
सुख्खायाममा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दैनिक ५–६ करोड पानी वितरण गर्छ । माग भने दैनिक ३५ करोड लिटर रहेको छ ।