मेरो परिवार मेरो कथा समाज

बाख्रापालन व्यवसायमा रमाउँदै छन् दृष्टिविहीन जीतबहादुर

बाख्रापालन व्यवसायमा रमाउँदै छन् दृष्टिविहीन जीतबहादुर

पुस - १९ । कञ्चनपुरको बेलौरी नगरपालिका–७ रामनगरका अति विपन्न परिवारका ५१ वर्षीय जीतबहादुर चौधरी जन्मदेखि नै दृष्टिविहीन हुन् । संसार देख्न नपाएका चौधरीले यतिबेला बेलौरी नगरपालिकामा बाख्रापालन व्यवसाय गर्दै अाएका छन्। जीतबहादुरले रामनगरस्थित हिमचुली बाख्रापालन समूहमा आबद्ध भएर बाख्रापालन गर्दैआएका छन् । “दिनभर बाख्राखोरमै काम गर्छु,” उनले भने– “बाख्राका लागि डोरी बनाउनेदेखि घाँसपातको व्यवस्थापनमा समय खर्चिन्छु ।” गाउँमा रहेको सामुदायिक वनले चौधरीलाई बासका लागि टहरा बनाउन जग्गा उपलब्ध गराएको छ ।

 “सम्पत्तिका नाउँमा सामुदायिक वनले टहरा बनाउन दिएको जग्गा मात्रै हो,” चौधरीले भने – “बाख्रापालनबाट आम्दानी गर्न सकिन्छ कि भनेर समूहमा आवद्ध भएको छु ।” चोधरी दम्पती शारीरिक रुपले अशक्त भएका कारण विगतमा गाउँमा मजदुरी गरेरै परिवारको लालनपालन गर्दैआएको थियो । उक्त समूहले १७५ वटा बाख्राबाट बाख्रापालन सुरु गरेको हो । समूहमा आवद्ध प्रायः आदिवासी र विपन्न परिवारका छन् । हिमचुली बाख्रापालन समूहका अध्यक्ष हरिदास चौधरीका अनुसार दृष्टिविहीन जीतबहादुर निकै सक्रिय रुपमा बाख्रापालनमा संलग्न रहेको बताए । उनका दुई छोरी र एक छोरा छन् ।

जेठी छोरीले गाउँमै सामान्य किराना पसल सञ्चालन गरेकी छन् । दुई छोरा छोरी गाउँकै सरकारी स्कूलमा पढ्दै आएका छन् । शुक्लाफाँटा आरक्षबाट विस्थापित भएर उनीहरु रामनगर पुगेका हुन् । आरक्षका कारण विस्थापित भएपछि सरकारले दिएको दश कठ्ठा जग्गामा चौधरीका पाँच दाजुभाई बस्दै आएका छन् । लामो समयसम्म गाउँलेले चौधरीलाई खाद्यान्न उपलब्ध गराएका थिए ।

“खानलगाउनै समस्या छ, छोरीले पसल सञ्चालन गरेपछि सामान्य घरखर्च जुटेको छ,” उनले भने । दुवै जना अपाङ्ग भएकै कारण सरकारले मासिक रु तीन/तीन सय भत्ता उपलब्ध गराउँदै आएको छ ।

दृष्टिविहीन बाख्रापालन

विशेष