विमान दुर्घटनामा सकिएको ब्राजिली टोली फेरि उदाउन २० खेलाडी ल्याउँदै
पुस–२० । गएको महिना कोलम्बियाको मेडेल्लिन सहर नजिक विमान दुर्घटना हुँदा ब्राजिलको फुटबल क्लबले १९ खेलाडी गुमाएपछि नयाँ सिजनका लागि २० खेलाडी अनुबन्ध गर्ने भएको छ ।
बोलिभियाबाट कोपा सुडअमेरिकानाको फाइनल खेलको लागि चापेकोएन्सका खेलाडी बोकेर उडेको विमान कोलम्बियामा दुर्घटना हँुदा १९ खेलाडीसहित ७१ जनाको ज्यान गएको थियो । शुक्रबारदेखि नयाँ सिजनको लागि सुरु हुने प्रशिक्षणको लागि चापेकोएन्सले २० खेलाडी अनुबन्ध गर्ने र विमान दुर्घटनामा बाच्न सफल भएको खेलाडीको जर्सी नम्बर सुरक्षित राखिने बताएको छ ।
चापेकोएन्सका निर्देशक रुइ कोस्टाको अनुसार खेलाडी अनुबन्ध गर्ने तयारीको लागि धेरै मात्रामा क्लबले ऋण लिएको छ ।
फाइनल खेल खेल्न नपाउँदै फुटबल जगतमा ठूलो धक्का लागेपछि कोलम्बियन प्रतिद्धन्दी एथ्लेटिको नेशनलले उपाधि चापेकोएन्सलाई प्रदान गरेको थियो । कोलम्बियन क्लबको प्रस्तावमा चापेकोएन्सका खेलाडीको सम्मानमा उपाधि प्रदान गरिएको थियो ।
ब्राजिलमा आउँदो जनवरी देखि नयाँ सिजन सुरु हुँदैछ । चापेकोएन्सले जनवरी २६ मा जोइनभिल्लेसँग सिजनको पहिलो खेल खेल्ने छ ।
विमान दुर्घटनामा धेरै खेलाडीको ज्यान गएपछि फुटबल लिगले क्लबलाई तीन सिजनसम्म रेलिगेशनबाट जोगाउने प्रस्ताव गरेको थियो । तर क्लबले त्यो प्रस्ताव अस्वीकार गरेर खेलाडीहरु अनुबन्ध गराउन लागेका छन् ।
कोपा सुडअमेरिकाना
चापेकोएन्स
ब्राजिल