समाज

अलपत्रमा राष्ट्रिय पुस्तकालय

अलपत्रमा राष्ट्रिय पुस्तकालय
पुस–२० । हरिहरभवनस्थित नेपाल राष्ट्रिय पुस्तकालयको भवन भत्किएपछि त्यहाँ रहेका एक लाख ५० हजार पुस्तक तथा पत्रपत्रिकाहरु अलपत्रमा परेका छन् । पत्रिका र पुस्तकहरु अहिले बोरामा खाँदेर राखिएको पुस्तकालयले बताएको छ । नयाँ भवन बन्नका लागि पूनःनिर्माण प्राधिकरणले रकम छुटाए पनि जग्गाको अभावमा काम अघि बढ्न सकेको छैन । पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनालीले गत वर्षको भूकम्पपछि पुस्तकालय सेवाविहीन भएको बताए । उनले भने, ‘अहिले पुनःनिर्माणको काम नै सुरु भएको छैन, सुरु भएपछि पनि २–३ वर्ष लाग्न सक्छ ।’ वैकल्पिक व्यवस्था गरेर पनि पुस्तकालय सञ्चालन गर्नुपर्ने उनकाे जोड छ । बोरामा राखिएका पुस्तक तथा पत्रिकाहरु केही खोलेपनि धेरै खोल्न नै बाँकी भएको पुस्तकालयका प्रकाशन प्रमुख यादवचन्द्र निरौलाले बताए । भूकम्पपछि पुस्तकालयका सामग्री पाँच हजारवटा बोरामा राखिएको छ । तीमध्ये तीन हजार बोरा मात्रै खोलिएको छ । उनी भन्छन्, ‘जग्गा उपलब्ध भएमा चाँडो भवन बनाएर सर्न चाहन्छौं ।’ साठी वर्ष पुरानो यस पुस्तकालयमा ३०० वर्ष पुराना सामग्री रहेका छन् । रासस

नेपाल राष्ट्रिय पुस्तकालय हरिहरभवन

विशेष