निर्यात प्रवद्र्धनका लागि नगद प्रोत्साहनमा जोड
पुस–२० । आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनका लागि सरकारले नगद प्रोत्साहन बढाउनुपर्नेमा निजी क्षेत्रका निर्यातकर्ताहरुले जोड दिएका छन् ।
एक रुपैयाँ बराबरको सामान निर्यात हुँदा रु १२ बराबरका सामग्री आयात भइरहेको मुलुकको वर्तमान निर्यातको स्थितिको अन्त्यका लागि उनीहरुले प्रोत्साहन रकम वृद्धिको माग गरेका हुन् ।
नेपाल निर्यात परिषद्ले बुधबार पत्रकार सम्मेलन गरेर हाल सरकारबाट उपलब्ध भएको दुई प्रतिशत नगद प्रोत्साहन अपुग भएको भन्दै त्यसलाई कम्तीमा १५ प्रतिशत पुर्याउनुपर्ने जनाएको छ ।
परिषद्का अध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले तीन वर्षअघि रु ९१ अर्ब बराबरका नेपाली उत्पादन निर्यात भएकामा त्यो अघिल्लो वर्ष रु ८६ अर्ब हुँदै हाल रु ७३ अर्बमा झर्नुले निर्यातको तस्बिर प्रष्ट हुन्छ भने ।
विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतका रुपमा रहेका निर्यातजन्य उद्योगको प्रवद्र्धनमा सरकारको ध्यानाकर्षण गर्न परिषद्, नेपाल हस्तकला महासङ्घलगायत संस्थाले यही पुस २२ गते निर्यात दिवस आयोजना गर्ने भएका छन् । रासस
नगद प्रोत्साहन
निर्यात प्रवद्र्धन