स्वास्थ्य

गर्भमा पनि असुरक्षित छन् छोरी

गर्भमा पनि असुरक्षित छन् छोरी

पुस २२ । सूर्यविनायक सुन्दरबस्तीकी २५ वर्षीया सुचित्रा ९नाम परिवर्तन० को ७ र ५ वर्षकी छोरी छन् । एक छोरा र छोरी जन्माउने इच्छा बोकेका सुचित्रा दम्पतीले सोचेजस्तो भएन ।

पहिलो सन्तान छोरी हुँदासम्म उनको परिवारमा खुसी थियो । दोस्रो सन्तानका रूपमा पनि छोरीकै जन्म भएपछि परिवार तथा छिमेकीले मन खिन्न बनाउन थाले । नेपाली सेनामा कार्यरत पतिले बिदामा घर आउँदा छोरा त चाहिन्छ नै भन्न थालेपछि तेस्रो सन्तान जन्माउने सहमति भएको उनी बताउँछिन् । दम्पतीकै सहमतिअनुसार छोरा जन्माउने अभिलाषामा तेस्रो गर्भ रहयो ।

गर्भ रहेको केही सातामा छोरा रहयो भने राख्ने र छोरी रहे फाल्ने भन्ने सहमतिमै भ्रुणको लिंग परीक्षण गराएर छोरी भ्रुण हत्या भएको उनले स्विकारिन् । सूर्यविनायककै एक कानुनी मान्यताप्राप्त गर्भपतन केन्द्रकै चिकित्सकको सल्लाहमा भ्रुण परीक्षण गरी गर्भपतन गराएको उनले बताइन् । मान्यताप्राप्त गर्भपतन केन्द्रले महिलाको निर्णयमा १२ सातासम्मको, हाडनाता वा बलात्कारबाट रहन गएको गर्भको प्रमाणित भई अभिभावकको सहमतिमा, आमा र बच्चामा कुनै जोखिम देखिए सम्बन्धित चिकित्सकको सल्लाहमा मात्र गर्भपतन गराउन सकिने कानुनी प्रावधान छ । यसबाहेक भ्रुणको लिंग पहिचान गरी गर्भपतन गराउन भने पाइँदैन ।

तर, पैसाको लोभमा वैधानिकता पाएकै चिकित्सकहरूले भ्रुण पहिचान गरी गर्भपतन गराइन्छ । ‘बाध्य भएरै तेस्रो गर्भको भ्रण हत्या गर्नुपरेको हो,’ उनले भनिन्, ‘छोरा जन्माउने कुरामा पति, घरपरिवारकै दबाब बढी भयो ।’ ‘सुरुमा चिकित्सकले भ्रणको परीक्षण गर्न मानेको थिएनन्, पछि वीर अस्पतालनजिकैको एक क्लिनिकमा लगेर गर्भपतन गराएको हो,’ उनले भनिन् । सुचित्राले आफू मात्र नभई अन्य ४ साथीले समेत सोही स्थानमा भ्रण परीक्षण गराई गर्भपतन गराएको बताइन् ।

सुचित्राको जस्तै भक्तपुर इनाचोकी श्रृष्टि नाम परिवर्तनको ५ वर्षकी छोरी छिन् । पहिलो सन्तान छोरी भएपछि ३ वर्षपछि दोस्रो सन्तानका रूपमा छोरा जन्माउने सहमतिमा गर्भ बस्यो । तर, गर्भ परीक्षण गराउँदा छोरी रहेको पाइएपछि ८ हजार खर्च गरी गर्भपतन गराएको उनले बताइन् । परिवारको दबाब र छोराको आसमा २ महिनाअघि पुनः दोस्रो भ्रुण हत्या गर्न बाध्य भएको उनले बताइन् । ‘जेठानीको छोरा भएको भन्दै परिवारले छोरै पाउन दबाब दिइरहेको छ,’ उनले भनिन् ।

गर्भमा रहेको भ्रुणको लिंग छोरा वा छोरी भनेर पहिचान गराउन पाइँदैन । भ्रुणको लिंग परीक्षणलाई अपराध मानिन्छ । ‘गर्भमा रहेको बच्चा र आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिन भिडियो एक्सरे अल्ट्रासाउन्ड गराउन पाइन्छ,’ जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका जनस्वास्थ्य निरीक्षक उमेश द्यौभडेलले भने, ‘तर, अल्ट्रासाउन्ड गरी भ्रणको लिंग छोरा वा छोरी पहिचान गर्न भने पाइँदैन । यदि यस्तो भएको छ भने अपराध हो ।’

मुलुकी ऐनको ज्यानसम्बन्धी महल ९२८० ग मा गर्भमा रहेको भ्रुणको लिंग पहिचान मात्र गराउनेलाई ३ देखि ६ महिना कैद र पहिचान गरी गर्भपतन गराउनेलाई ६ महिनादेखि २ वर्षसम्म कैदको व्यवस्था रहेको अधिवक्ता किरण न्यौपानेले बताए । परिवार र पतिको सल्लाहबाट गर्भपतन गराउने भएकाले यसविरुद्ध कसैले उजुरी नहाल्ने प्रवृत्ति छ । कान्तिपूर

विशेष