समाज

६० घरको एउटा कुवा, तीनदिनमा एकगाग्री पानी

६० घरको एउटा कुवा, तीनदिनमा एकगाग्री पानी
पुस २२ । पानीको अभाव हुनु त सामान्य नै हो तर सल्यानको कुनै गाउँमा पानीको यति अभाव छ की त्यो सुन्दा पनि पत्याउनै गाह्रो हुन्छ । जिल्लाको कुपिन्डे गाविस–४ माथिल्लो ज्यामिरेमा पानीको चरम अभाव भएको छ । गाउँका ६० परिवारले प्रयोग गर्दै आएको कुवामा पानी सुक्दै गएपछि गाउँमा पानीको चरम अभाव भएको हो । गाउँको वरिपरि कुवाबाहेक अन्य कुनै स्रोत नहुँदा बस्ती नै सङ्कटमा पर्न थालेको छ । गाउँमा खानेपानीको अभाव हुन थालेपछि पशु चौपायासमेत सङ्कटमा पर्न थालेको स्थानीय बताउँछन् । पहिले यही कुवाबाट गाउँमा सबैलाई पानी पुग्ने थियो, अहिले जनसङ्ख्या बढ्नुका साथै कुवा पनि सुकेपछि गाउँमा पानीको अभाव भएको स्थानीय रामबहादुर यरीले जानकारी दिए । ‘गाउँमा आउने न त कुनै पानीको स्रोत छ, नत बोकेर ल्याउने ठाउँ छ,’ यरीले भने । गाउँमा भएको पानीको अभाव भएसँगै मानिस बसाइँ सर्न थालेका छन् । गाउँमा पानीको स्रोत भएन, मानिस ढोरपिपल र अन्य जिल्लामा बसाइँ सर्न थालेका स्थानीय वीरबहादुर विकले बताए । ‘पहिले कुवामा पानीको मुहान ठूलो थियो, गाउँमा जनसङ्ख्या पनि कम थियो, अहिले मुहान सुकेको छ, बस्ती बढेकाले समस्या दिनप्रतिदिन बढ्दै गएको छ,’ विकले भने । ‘बस्तीमा खानेपानीको अभाव भएपछि मानिस बसाइँ सर्न थालेको स्थानीयबासी रमेश विकले बताए । ‘गाउँमा खानेपानीको अभाव छ, अहिलेसम्म सात घर बसाइँ सरेर गइसके यहाँ बस्ने परिवारले पनि पशु चौपाया घटाउँदै छन्,’ विकले भने । ‘पानीकै लागि परिवारको एकजना सदस्यको दैनिकी नै कुवामा कुर्ने हुन्छ, बिहान ३ बजेदेखि लाइन लागेर पनि पालो आउँदैन, आए पनि तीन दिनमा एक गाग्री पानी आउँछ,’ स्थानीय सुन्तली यरीले भनिन् । पानीको अभावसँगै घरमा निर्माण गरिएका शौचालय समेत प्रयोगविहीन हुन थालेका छन् ।

विशेष