समाज

पूर्वी पहाडी क्षेत्रमा एक दशक यताकै उच्च हिमपात

पूर्वी पहाडी क्षेत्रमा एक दशक यताकै उच्च हिमपात

पुस २२ । तेह्रथुम र संखुवासभाको सीमावर्ती तीनजुरे मिल्के, जलजले क्षेत्रमा एक दशक यताकै उच्च हिमपात भएको छ ।

चौकी, मंगलबारे, गुफापोखरी, लामपोखरी, सुकेपोखरी, मिल्के क्षेत्रमा बिहीबार दिउँसोबाटै व्यापक हिमपात भइरहेको छ । गुफापोखरी क्षेत्रमा ४ फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।

यो वर्ष पहिलेभन्दा छिटो र झन्डै एक दशक यताकै बाक्लो हिमपात भएको गुफापोखरीको मकालु होटलका सञ्चालक हरिप्रसाद खनालले जानकारी दिए ।

यो वर्ष करिव १५ सय मिटर उचाईसम्म पनि हिमपात भएकाले जिल्लामा चिसो अत्यधिक बढेको छ । तेह्रथुमका लसुने, पिंगुवा, जिरीखिम्ती, सिमिनाक्सी डाँडा, तीनजुरे, पाथीभरा, घुर्मिसेलगायत तल्लो क्षेत्रमा पनि हिमपात भएको छ ।

यस्तै संखुवासभाका मकालु, पावाखोला, हटिया, चेपुवा, नुनढाकी, जलजला, सभापोखरीलगायत गाविसमा भएको हिमपातले जनजीवन कष्टकर बनेको स्थानीयले बताएका छन् ।

Himpat

विशेष