समाज

असी वर्ष पुरानो पुख्र्यौली व्यवसायलाई निरन्तरता

असी वर्ष पुरानो पुख्र्यौली व्यवसायलाई निरन्तरता
पुस - २२ । थोरै समयको अन्तरालमा व्यवसाय परिवर्तन गर्ने प्रवृति बढिरहेका अवस्थामा पोखराको नालाको मुखमा बस्ने एक चुल्याजु परिवारले भने ८० वर्ष पुरानो व्यवसायलाई हालसम्म निरन्तरता दिएको सुन्दा जो कोहीलाई अचम्म लाग्नसक्छ । पोखरामा प्राचीन समयमा ‘भुत्ते साह’ भनेर चिनिने सिद्धिलाल चुल्याजुले विसं १९९० मा नालाको मुखमा सुरु गरेको जेरी लगायतका मिठाईको व्यापारलाई उनको परिवारले हालसम्म पनि निरन्तरता दिएका छन् । भुत्ते साहुको जेरी पसल भनेर पोखरा र आसपासका क्षेत्रमा प्रसिद्ध बनेको यस व्यवसायलाई सिद्धिलाल चुल्याजुको २०२८ सालमा मृत्यु भएपछि उनका कान्छा छोरा राजकुमार चुल्याजुले निरन्तरता दिँदैआएका कारण जेरीको स्वादका लागि अझै पनि टाढाटाढाबाट मानिस यहाँ आउने गरेका छन् । तातो जेरीको मीठो स्वादका लागि पोखराका विभिन्न ठाउँबाट सो पसलमा सर्वसाधारण धाउने गरेका छन् । अन्य ठाउँभन्दा केही ठूलो हुने चुल्याजु परिवारले बनाउँदै आएको जेरीको मूल्य हाल प्रतिगोटा रु ३० पर्छ । बुबाको मृत्यु भइसकेपछि पनि भुत्ते साहुको पसल भन्दै जेरी खान आउने आफ्ना ग्राहकलाई छोरा राजकुमारले धानेकै छन् । दैनिक ३०० गोटादेखि ५०० गोटा जेरी बच्दै आएको दयालक्ष्मी चुल्याजु बताए । “पोखरा आसपासका ठाउँका साथै स्याङजा, पर्वत, बाग्लुङलगायतका स्थानबाट अझै पनि उमेर पुगेका बुढाबुढी भुत्ते साहुको पसलमा जेरी खान भन्दै आउने गरेका छन्,” उनले भने, “बुबाको पालामा यहाँको सेलरोटी पनि उत्तिकै प्रसिद्ध थियो, हाल जेरीका अतिरिक्त लाखमरी, एैठे, खस्ता, लालमोहन आदि पनि बनाउने गरेका छौं ।” चाडपर्वका अवसरमा सेलरोटी, फिनी, अनरसाको माग आउने गरेका कारण आफूहरूलाई भ्याइनभ्याइ हुने उनी बताउँछन् । विसं १९९० देखि २००७ सालसम्म आफ्नै घरमा सञ्चालन भएको जेरी पसल नालामुख क्षेत्रमा आगलागी भएर घर जलेपछि नजिकैको भीमसेन मन्दिर नजिक सञ्चालन गरिएको थियो । विसं २०३५ सालपछि आफ्नै घरमा सञ्चालन भइरहेको उनले बताए । विसं २०१५ मा तत्कालिन राजा महेन्द्रको पोखरा बसाइँमा बिध्न्वाासिनी मन्दिर जाँदा त्यहाँको जेरी खाएर प्रभावित भएपछि बुबा सिद्धिलाललाई रत्नमन्दिरमा नै लगेर जेरी बनाउन लगाएको अर्को मीठो अनुभव चुल्याजु परिवारसँग छ । जेरीका कारण प्रभावित बनेका राजाले उक्त समयमा पोखरामा केही जग्गा बक्सिसस्वरुप दिएको राजकुमारले जानकारी दिए । “परिवारको दैनिकी पनि राम्रैसँग चलेको र बुबादेखि प्रसिद्धी कमाउँदै आएको जेरी पसललाई अझै पनि निरन्तरता दिने सोच रहेको छ,” राजकुमारले भने ।
वासुदेव पौडेल/पोखरा

जेरी पसल

विशेष