समाज

तीन जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता

तीन जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता
पुस–२३ । सरकारले गरिबीको रेखामुनि रहेका रौतहट, बझाङ र अछाम जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले केही दिनअघि मात्र ती जिल्लामा बसोबास गर्ने पाँच वर्षमुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो । केन्द्रीय पञ्जीकरण विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले आम्दानी नभएका परिवारका बालबालिकालाई पोषणका लागि मासिक रु ६ सय दिन लागिएको जानकारी दिए । उनले भने, “पहिला तीन जिल्लालाई पोषण भत्तास्वरुप रकम दिन्छौँ, कति आवश्यक पर्छ हेरेर अरु जिल्लामा पनि क्रमशः विस्तार गर्दै लैजान्छौँ ।” यसअघि विभागले दलित र कर्णाली अञ्चलका पाँच वर्षमुनिका बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको थियो । स्थानीय विकास मन्त्रालय, केन्द्रीय पञ्जीकरण विभागले सुरुमा तीन जिल्लाका बालबालिकालाई सामाजिक सुरक्षा दिनका लागि रु २० करोड रकम विनियोजन गरेको छ । आव २०७३–०७४ का लागि सामाजिक सुरक्षा भत्ताबापत सरकारले रु ३२ अर्ब ६९ करोड ९९ लाख ९९ हजार छुट्याएको छ । रासस

बालबालिका सरकार सामाजिक सुरक्षा भत्ता

विशेष