समाज

‘औद्योगिक करिडोरलाई विद्युत्भार कटौती मुक्त गरिने’

‘औद्योगिक करिडोरलाई विद्युत्भार कटौती मुक्त गरिने’
पुस–२३ । ऊर्जामन्त्री जनार्दन शर्माले वीरगन्ज औद्योगिक करिडोरलाई छिट्टै विद्युत्भार कटौतीमुक्त घोषणा गर्ने तयारी भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपाल पर्सा शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले काठमाडौँ उपत्यकालाई पहिलो चरणमा घोषणा गरिएको विद्युत्भार कटौतीमुक्त अभियानको दोस्रो शृङ्खलामा वीरगन्ज औद्योगिक करिडोरलाई जोडिने बताए । उनले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् क्षेत्रको विकास नगरी अगाडि बढ्न नसकिने भएकाले त्यसमा सरकार प्रतिबद्ध रहेको छ भने । वीरगन्जका उद्योगी व्यापारीलाई विद्युत् माग कति हो ? त्यसको तथ्याङ्क उपलब्ध गराउन आग्रह गरेको जानकारी दिँदै उनले आगामी एक वर्षभित्र उनीहरुको मागअनुसार विद्युत् उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई साकार पार्न आफूले उद्योगी व्यवसायीलाई समेत जल विद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेको बताए । फरक प्रसङ्गमा ऊर्जामन्त्री शर्माले राष्ट्रवादका नाममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रघात गरिरहेको, मधेसी आदिवासी थारु समुदायलाई पर धकेल्ने काम भइरहेको धारणा राखे । सरकार सबै पक्षको सहमतिमा स्थानीय तहको निर्वाचन गराउने तयारीमा रहेको स्पष्ट पार्दै उनले भने– “सदनमा पेस भएको संविधान संशोधनको प्रस्ताव कि त प्रक्रियामा अगाडि बढ्छ, कि त विषयवस्तुमा सहमति हुन्छ त्यसको कुनै विकल्प छैन राष्ट्रवादको नाममा जनतालाई अधिकार नदिने प्रवृत्ति त्याग्न म एमालेलाई आग्रह गर्दछु ।”रासस

ऊर्जामन्त्री जनार्दन शर्मा विद्युत्भार कटौतीमुक्त अभियान वीरगन्ज औद्योगिक करिडोर

विशेष