देश

मृतकका आफन्त राहत लिन नआउँदा समस्या

मृतकका आफन्त राहत लिन नआउँदा समस्या
पुस – २३ । बैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको आफन्त सम्पर्कमा नआउँदा राहत वितरणमा समस्या भएको जिल्ला प्रशासन कार्यालय रोल्पाले जनाएको छ । आर्थिक वर्ष २०७१/७२ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ३८ जनाको नाममा राहत रकम उपलब्ध भएपनि हालसम्म २९ जना मृतकका आफन्तले मात्र राहत लिएका छन्, जिल्ला प्रशासन कार्यालय रोल्पाका लेखापाल सरस्वती गिरिले भने– ‘बाँकी नौजना मृतकका आफन्त सम्पर्कमा नआएकाले राहत वितरणमा समस्या भएका छन् ।’ वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका रोल्पा मिरुल– १ का चन्द्रबहादुर बुढा, बडाचौर– ४ का विष्णु कामी, जिनाबाङ– १ का दुर्गबहादुर खड्का, हार्जङ–२ का झक्कु बुढामगर, सीर्प–४ का सीसा घर्ती, झेनाम–१ का बुद्धिलाल वाइबा, जौलिपोखरी–८ जयबहादुर, डुब्रिङ–४ का हिमबहादुर विक र ह्वामा–६ का हरिशकुमार बुढाको कानुनी हकदार कार्यालयको सम्पर्कमा नआएपछि कार्यालयलाई राहत वितरणमा समस्या भएको रोल्पाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए । उनले परराष्ट्र मन्त्रालयमार्फत कार्यालयलाई राहतस्वरुप प्राप्त भएको रकम लिन मृतकका कानुनी हकदार यथाशीघ्र कार्यालयको सम्पर्कमा आए राहत वितरणमा सहज हुने बताए ।

बैदेशिक रोजगार

विशेष