जीवन धान्न ज्यामी बनेका अन्तर्राष्ट्रिय पदक बिजेता
च्याम्पियनसिपमा पदक जित्ने राष्ट्रिय खेलाडीको जीवन कस्तो हुन्छ ? पैसा, इज्जत र स्तर यी सबै कुराउनीहरुले पाएका हुन्छन् । धेरैले यही ठान्छन् । तर, नवराज कार्कीको अनुभव बेग्लै छ । उनको संर्घष गर्विलो छ । कार्की पारातेक्वान्दोका राष्ट्रिय खेलाडी हुन् । प्रथम अन्र्तराष्ट्रिय पारातेक्वान्दो च्याम्पियनसिपमा उनले रजत पदक जिते । भारतमा भएको च्याम्पियनसिपमा पदक जित्दै देशको नाम चम्काएका उनी शारीरिकरुपमा अशक्त हजारौँका लागि प्रेरणाका स्रोत हुन् । तरपनि, उनको जीबन कष्टपूर्ण छ । अन्तराष्ट्रिय पदक विजेता उनी जीबन धान्नकै लागि ज्यामी बनेका छन् । उनको वर्तमान जति बोझिलो छ, विगत पनि त्यत्तिकै दुःखले भरिएको छ । उनका उमेरका साथी स्कुल पढ्दै गर्दा उनले होटेलमा भाडा माझे, सकि नसकी गिट्टी बालुवा बोके, किशोरवय उमेरमा परिवारबाट टाढिए । लक्का जवान हुँदा हात गुमाए ।
जीवनको उतारचढाब कार्की विंसं २०४२ सालमा दोलखामा जन्मिए । गाउँमै हुर्किए, गाउँमै पढे । धेरैले ‘केटो पछि ठूलो मान्छे बन्छ भन्थे ’ उनले बाल्यकाल सम्झिए । ठुलो मान्छे बन्नकै लागि उनी १३ वर्षको उमेरमा गाउँबाट भागेर काठमाडांै छिरे । उनलाई काठमाण्डौ छिरे ठूलो मान्छे बनिन्छ भन्ने थियो । ठुलो मान्छे बन्ने चक्करमा पढाइ बिग्रेको उनले ख्यालै गरेनन् । ‘काठमाडौ छिरेपछि ठूलो काम गरिन्छ, ठुलै घरमा बसिन्छ, शक्तिशाली मान्छे बनिन्छ’ भन्ने भ्रम उनको दिमागमा सानैदेखि परेको थियो । भागेर काठमाडौ छिरेका उनको सडकमा बास हुन पुग्यो । नत उनले खान नै पाए न त सुत्न नै । केहि दिनपछि उनको भेट गाउँका एकजना दाइसँग भयो । दाइले मम पसलको भाडा माझ्ने काम लगाइदिए । उनलाई बफ चल्दैनथ्यो । ममको बोसो भएको भाडा माझ्दा उनलाई बान्ता हुन्थ्यो । उनी त्यहाँ काम गर्दा बिरामी भए । शरीर कमजोर भएर केही गर्न नसक्ने भएपछि मासिक ३०० आउने काम छाडे । त्यसपछि उनी फेरि बेरोजगार बने । केही दिनपछि गाउँकी दिदीसँग भेट भयो । दिदीले पैसा दिएर गाउँ जाने गाडी चढाइन् । जती गाडि अगाडी बड्थ्यो उनको मुटुको धड्कन त्यति नै तेज हुन्थ्यो । उनलाई डर लाग्दै गयो । पढ्न छोडेर भागेको मान्छे घर कसरी जानु, गाली र पिटाइ खाने डरले उनी घर जान सकेनन् । दोलखाको चरीकोट बजारमा नै उनी गाडीबाट ओर्लिए । घर जाने आँट गर्न सकेनन् । दुई बर्ष उनले चरीकोटमै बिताए । हजुरबुबाले उनी चरीकोटमा रहेको पत्ता पाएपछि घर लिएर गए । हजुरबुबाले उनलाई स्कुल भर्ना गरिदिए । पढ्ने बानी हराईसकेको थियो । जति गरेनी पढ्नमा उनको मन अडेन । उनले पढ्न सकेनन् । २०५९ सालमा उनी घरपरिवारसँग सल्लाह गरेरै काठमाडौं छिरे । दोस्रोपटक काठमांडौँ छिर्दा उनी १६ वर्षका थिए । जानेको केही थिएन, दैनिक ५० रुपैयाँ ज्यालामा ज्यामी काम गर्न थाले । त्यसको केही समयपछि त्यो काम पनि छोडेर उनी ढलानको काम गर्न थाले । त्यहाँ उनले दैनिक ९० रुपैयाँ पाउँथे । कामसँगसँगै उनी नृत्य सिक्न थाले । धेरै ठाउँमा नृत्यमा भाग लिए, तर निरन्तरता दिन सकेनन् ।
दुर्घटना भएपछि नवराजले ढलानको गिट्टी बालुवा घोल्ने मेशिन चलाउन थाले । मेशिन चलाउदा चलाउदै दुर्घटना भयो । मेशिनले दाहिने हातको सबै नशाहरु काटिदियो । उनलाई टिचिङ अस्पतालमा भर्ना गरियो । दुई महिनाको उपचार पछि निको भयो । तर, दाहिने हात काम नलाग्ने भइसकेको थियो । हात नै गुमेपछि उनी चिन्तित हुन थाले । के गर्ने र कसो गर्ने यस्तै चिन्ताले उनलाई सताउन थाल्यो । उनी भन्छन ‘बास्तविक पीडा मैले त्यतिबेला बुझेँ । साथीको मित्रता, परिवारको महत्व र जीवनको यथार्थता आफु समस्यामा परेपछि बुझिदोरहेछ । आफुलाई प्रिय लाग्ने मान्छेहरुकोे बचनले पनि त्यतिबेला बिझाउँदो रहेछ । ’ दुर्घटना भएर अस्पताल बस्दा हात खुट्टमा स्टिल राख्न आउने अनेकौँ व्यक्तिलाई उनले देखे । कतिका हात थिएन, कतिका खुट थिएन । त्यो देखेर उनलाई आत्मविस्वास पलाउदै गयो । म एक्लो होइन, मजस्ता अरुपनि छन् भन्ने भयो । ‘अरु यस्तो अवस्थामा बाच्न सक्छन भने म किन सक्दिन ?’ उनले यसरी नै आफ्नो मन बलियो पारे । त्यही ठाउँमा उनी फेरि ढलानको काम गर्न थाले । काम गर्न अत्यन्तै गाहे थियो, तर बाच्नको लागि काम गर्नुको बिकल्प थिएन । त्यसरी नै ज्यामी काम गर्दै गए, जसातसो जीवन चल्दै गयो । जीवन दुखमै बितेपनि उनी खुसी थिए । काम गरेर पेट पाल्न सक्ने अवस्था थियो ।
यसरी बने खेलाडी २०६७ सालभन्दा अगाडी उनी सामान्य काम गर्ने सामान्य नागरिक थिए । २०६७ पछि उनको पहिचान फराकिलो बन्दै गयो । २०६७ सालमा उनको जीवनमा थोरै परिवर्तन आयो । त्यो वर्ष उनले एनजिओमा स्वंय सेवकको काम गर्न थाले । संगतकै कारण उनी बिहान बिहान दौडन थाले । स्वास्थ्यको लागि दौडिन सुरु गर्दा उनलाई खेलाडी बन्छु भन्ने मनमा अलिकति पनि थिएन । २०६८ सालमा सामाजिक क्षेत्रमा काम गर्ने संस्थाहरुले आयोजना गरेको अफिसियल खेलकुद प्रतियोगिता भयो । त्यसमा उनी सहभागीमात्र भएनन्, दोस्रो पनि भए । शारीरिक रुपमा अशक्त मान्छेले सबल मान्छेलाई जितेर दोस्रो हुँदा उनको सबैले प्रशंसा गरे । त्यसपछि उनी त्यस्तै प्रतियोगिताहरुमा भाग लिन थाले । कहिले जित्थे त कहिले हार्थे तर भाग लिन उनले छोडेनन् । यस्तै दौडहरुमा भाग लिने सिलसिलामा अन्र्तराष्ट्रिय पारा तेक्वान्दोको लागि खेलाडी छनौट हुन लागेको उनले थाहा पाए । दौडमा जस्तै उनी पारा तेक्वान्दोमा पनि पोख्त थिए । उनले बैकुण्ठ मानन्धर, राजेन्द्र गुरुङसँग अभ्यास गर्न थाले । २ वर्षको अभ्यासबाट उनी तेक्वान्दो च्याम्पियनसिपमा छनौट भए । यता अभ्यास गर्दै उता समय मिलाएर उनी ज्यामी काम पनि गरिरहेका थिए । फाइनलमा उनी इरानी खेलाडीसँग पराजित भए । स्वर्णको नजिक पुगेका उनी रजत पदक लिएर फर्किए । प्रतियोगितामा उनको खुट्टा भाँचियो । तरपनि उनलाई कुनै दुःख लागेन । खुट्टा बिनाअर्थ भाँचिएको थिएन ।
पदक जितेर आएपछिको जीवन खेलकुद क्षेत्रमा छिर्न उनलाई जति सजिलो भएको थियो, त्यसमा टिक्न र बिक्न उनले निकै संर्घष गर्नुपर्यो । आफ्नै खर्चले सबै काम गर्नुपर्ने भएकाले उनी दबाबमा थिए । लामो संर्घषपछि बल्तल्ल पदक जितेर आए, त्यसले उनको घाउमा मलम लगाउन सकेन । उनी खुसी हुन सकेनन् । खेल जितेर आएपछि उनको जीवनमा कुनै परिवर्तन आएन । अन्र्तराष्ट्रिय स्तरको प्रतियोगितामा रजत पदक जित्नु राष्ट्रको लागि ठुलै उपलब्धी थियो । तर, उनको खोजी भएन । राष्ट्रिय खेलाडी भएपछि केहि सुविधा पाउनु पर्ने हो । उनले अहिलेसम्म पाएका छैनन् । नत उनले तलब भत्ता पाउछन नत अभ्यासका लागि डाइट नै । आफ्नै पैसाले सबै खर्चमा ड्रेस, किन्छन्, डाईट खान्छन् र अभ्यास गर्छन् । खर्चको जोहो गर्नका लागि उनी दिनरात मजदुरी गर्छन् । अन्तराष्ट्रिय पदक बिजेता पेट पाल्नैका लागि ज्यामी बन्न बिबश छन् । कार्की भन्छन्, ‘जीवनमा जस्तोसुकै परिस्थिति आएपनि संर्घष गर्न छाड्दिनँ ।’ पारा तेक्वान्दोको एसियन गेम खेल्ने योजनामा छन् उनी । त्यसैगरि सन् २०२० को ओलम्पिकमा पारा तेक्वान्दो खेल्नु उनको लक्ष्य रहेको छ । उनी अभ्यास र काम दुईटैलाई निरन्तरता दिईरहेका छन । आत्मविस्वासी हुँदै भन्छन् ‘म आफ्नै तरिकाले खेलकुदमा लागिरहन्छु । मलाई राम्रोसँग थाहा छ खेलकुद क्षेत्रमा लाग्ने मान्छे एकलब्य हुनैपर्छ । केहि पाउने आशले भन्दा राष्ट्रलाई केहि दिनको लागि ठूलो त्याग गर्नुपर्छ । म त्यो गरिरहन्छु ।’ प्रस्तुती: सागर बुढाथोकी international medal winner navaraj karki