‘माछा मार्दै जाँदा पानीजहाज पाकिस्तान पसिसकेको थाहै भएन’ (भिडियोसहित)
पुस २४ । गुल्मी बडागाउँका यमबहादुर सार्कीलाई गुजरातमा माछा मार्दैै मार्दै पाकिस्तानको सीमा भित्र पसेकोे थाहै भएन । खासमा उनी जुन पानी जहाजमा काम गर्थे त्यो पानी जहाज भारतको सीमा नाघेर पाकिस्तान पसिसकेको थियो ।
एक त पाकिस्तान त्यसमाथि भारतीय मछुवारेहरुको जहाजलाई नियन्त्रणमा लिन पाकिस्तानी नेभीलाई समय लागेन । जहाजसहित सबैलाई पाकिस्तानी नेभीले नियन्त्रणमा लियो ।
घटना पोहोर फागुनको हो, जुन बेला उनीसहित भारतीय मछुवारेहरुलाई पाकिस्तानी सेनाले नियन्त्रणमा लिएको थियो । समुद्रमा माछा मार्न महिनौसम्म पानी जहाज समुद्रको यताउता विचरण गरिरहन्छ । त्यस्तो जहाजमा बसेर माछा मार्ने यमबहादुरलाई महिनाको २५ हजार भारु दिने भनिएको थियो । त्यही २५ हजारमा उनी लोभिएका थिए । २५ हजार त्यस्तै हो उनी पुगे पाकिस्तानी जेलमा ।
कराँचीमा रहेको ल्यान्डी जेलमा रहँदा उनले आफू नेपाली भएको बयान दिए । तर उनीसँग नेपाली हुँ भन्ने कुनै प्रमाण थिएन । जसका कारण उनले लामो समय जेलमा बस्नु पर्यो । उनले जेलबाटै नेपालमा चिठ्ठी लेखे । जसोतसो चिठ्ठी उनको घरसम्म पुग्यो ।
घरमा बाबु, श्रीमतीले यमहादुरको खोजी गर्न थाले । उनीहरुले परराष्ट्र हुँदै कराँचीस्थित नेपाली दूतावासमा खबर पठाउन सफल भए । नेपाली दूतावासले यमबहादुर नेपाली नागरिक भएको प्रमाणित गरिदियो । त्यसपछि उनलाई सिन्ध प्रान्तले घरफिर्ती कागज दियो, नेपाली दूतावासले ट्राभल डकुमेन्ट उपलब्ध गराइदियो भने झापा दुधेका युवा व्यवसायी सन्तोष लिम्बूले टिकटको पैसा हालिदिए ।
ल्यान्डी जेलबाट उनी हवाई जहाज चढेर काठमाडौं उत्रदा यमबहादुर एक सरो कपडा र चप्पलमा थिए । पुसको महिना काठमाडौंको जाडो, उनी चिसोले कामिरहेका थिए ।
जेलबाट नेपाल ल्याउन समन्वय र सहयोग गर्ने झापाका युवा व्यवसायी सन्तोष लिम्बूले उनलाई जुत्ता, ज्याकेट किनिदिए । काठमाडौंबाट गुल्मीसम्म जाने टिकट, उनलाई बुझ्न आएका उनका बुवालाई टिकट आदिको बन्दोबस्त पनि सन्तोषले नै गरिदिएका थिए । यमबहादुर सकुशल नेपाल आइपुगको देखेर उनका बाबुको आँशु रोकिएन ।
छोरो सकुशल भेटेर वृद्ध उनको बुवाले खुसी भएर गुल्मी लगे । यमबहादुरका एक छोरा र दुई छोरी श्रीमती गुल्मी मै छन् ।
यमबहादुर गुल्मी गएको भोलिपल्ट भेटिए सन्तोष लिम्बू । जसले यमबहादुरलाई नेपाल फिर्ता ल्याउन तन मन र धनले सहयोग गरेका थिए । गरिबीकै कारण गुजरातसम्म माछा मार्ने कामका लागि पुग्ने नेपालीहरुको कारुणिक अवस्था बुझेपछि सन्तोषले पनि अनौठो माने । उनले यमबहादुरलाई कसरी ल्याइयो, यस घटनाको अन्तर्वस्तु के थियो भन्ने नेपालआजसँग व्यक्त गरेका छन् ।