समाज

चितुवाको आक्रमणबाट चार घाइते

चितुवाको आक्रमणबाट चार घाइते
पुस–२४ । कञ्चनपुरको भीमदत्तनगरपालिका– १ भाषी गाउँ पसेको चितुवाको आक्रमणबाट एक प्रहरीसहित चार जना स्थानीय बासिन्दा घाइते भएका छन् । अार्इतबार बिहान भाषी खोलामा रहेको चितुवाले आक्रमण गर्दा वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रहरी हवल्दार शङ्करदत्त मिश्रसहित ४ जना घाइते भएका छन् । घाइते हुनेमा भाषीमा डेरा गरी अध्ययन गर्ने गणेश भाट, बेदकोट नगरपालिका– ८ का लाल सार्की र मोहनसिंह विष्ट छन् । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । ‘चितुवा हेर्न गाउँलेको भिड लागेको थियो ।’ घाइते प्रहरी हबल्दार मिश्रले भने–“गाउँलेलाई चितुवा भएकोतिर नजान भन्दै गर्दा चितुवा आएर आक्रमण गर्यो ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले चितुवा नियन्त्रणका लागि निकुञ्जबाट हात्तीसहितको टोली भाषी पुगेको जानकारी दिए । त्यसका साथै निकुञ्ज कर्मचारी, प्रहरी र स्थानीयवासी चितुवा नियन्त्रणमा लागिपरेको भए पनि अझै नियन्त्रणमा आइसकेको छैन । रासस

कञ्चनपुर चितुवा

विशेष