समाज

हिमपातले अवरुद्ध सुदूरपश्चिमका राजमार्ग सञ्चालनमा

हिमपातले अवरुद्ध सुदूरपश्चिमका राजमार्ग सञ्चालनमा
पुस–२४ । गएरातिदेखि हिमपातले अवरुद्ध भएका सुदूरपश्चिमका पहाडी जिल्लाका राजमार्ग अार्इतबार मध्याह्नदेखि पुनः सञ्चालनमा आएका छन् । बैतडीको उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाडाैँलगायत केही भूभागमा जमेको डेढ फिटसम्मको हिमपातले अवरुद्घ बनेको राजमार्ग अार्इतबार मध्याह्न १२ बजेदेखि पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । राजमार्ग अवरुद्घ हुँदा गएरातिदेखि रोसकएका सवारीसाधन धमाधम गन्तव्यतिर लागेका प्रहरीले बताएको छ । बैतडीबाट डडेल्धुरा, धनगढी, महेन्द्रनगर, काठमाडाैँ र जिल्ला भित्रिने दर्जनाैँ गाडी तथा यात्रु राजमार्ग अवरुद्ध हुँदा यसअघि सडकमै अलपत्र परेका थिए । यस्तै हिमपातले अवरुद्ध बैतडीको दशरथचन्द राजमार्गलगायत सुदूरपश्चिमका जयपृथ्वी राजमार्ग, महाकाली राजमार्ग, भीमदत्त राजमार्गलगायतका सडकखण्ड पनि सञ्चालनमा आएका बताइएको छ । शनिबार एक्कासि आएको मौसम परिवर्तनले वर्षासँगै गएराति बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको थियो । वर्षासँगैको हिमपातले अत्यधिक चिसो बढेपछि प्रभावित भएको सुदूरपश्चिमको जनजीवन पनि घाम लागेपछि सामान्य बन्दै गएको छ । चिसोले बढी जसो बालबालिका र वृद्घवृद्घा प्रभावित भएका थिए । लामो समयपछि वर्षा भएपछि किसान भने हर्षित भएका छन् । वर्षा नहुँदा हिउँदे बाली सुक्न लागेकामा चिन्तित भएका किसान वर्षापछि हर्षित भएका हुन् । यो वर्षाले हिउँदे बाली सप्रिने किसानले बताएका छन् । रासस

राजमार्ग सुदूरपश्चिम हिमपात

विशेष