खेल

मेस्सीको अन्तिम मिनेटको गोलले बार्सिलोना हारबाट बच्यो

मेस्सीको अन्तिम मिनेटको गोलले बार्सिलोना हारबाट बच्यो
पुस–२५ । स्टार स्ट्राइकर लिओनल मेस्सीले बार्सिलोनालाई अस्वाभाविक हारबाट बचाएका छन् । आईतबार राति भएको ला लिगाअन्तर्गत भिलारेलविरुद्धको खेलमा निर्धारित ९० मिनेटको अन्त्यमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई हारबाट बचाएका हुन् । बलको नियन्त्रण आफ्नो पक्षमा रहेपनि गोल गर्न नसकेको बार्सिलोनाले ९०औँ मिनेटमा पाएको फ्रि किकमा मेस्सीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । भिलारेलको लागि ४९ औँ मिनेटमा निकोला सान्सोनेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तथापि बार्सिलोनाले उक्त बराबरी खेलबाट फाइदा भने पाएको छैन । खेलबाट एक अंकमात्र जोडेपछि बार्सिलोनाको १७ खेलबाट ३५ अंकमात्र रहेको छ । शुक्रबार मात्रै बार्सिलोनालाई उछिनेको सेभिल्लाको भने ३६ अंक छ । रियल मड्रिडले १६ खेलबाट ४० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ । सन् २००८ पछि बार्सिलोनालाई पराजित गर्ने क्षण नजिक पुगेको भिलारेल मेसीका कारण स्तब्ध बनेको थियो । भिलारेलले ९४ मिनेटमा आफ्नो स्ट्राइकर कोस्टा जोर्डालाई दोहोरो पहेँलो कार्डका कारण गुमाएको थियो ।

बार्सिलोना भिलारेल ला लिगा

विशेष