विचार

सरकारले गान्धीजयन्ती मनाओस्, हामी पृथ्वीजयन्ती मनाउँछौं

सरकारले गान्धीजयन्ती मनाओस्, हामी पृथ्वीजयन्ती मनाउँछौं


–अस्मिता भण्डारी

हिजोआज दिग्गज अर्थविद्, योजनाविद्हरुले खेतियोग्य जमिन मासेर प्लटिङ भइरहेकोमा चिन्ता व्यक्त गरिरहेका छन् । राम्रो खेति नहुने जमिनमा बस्ती बसाउने र खेतियोग्य जमिनमा फसल लगाउन हामीले सकेनौं । सकेका छैनौं । सकेको भए सुडान र सोमालीयामा जस्ता कुपोषित बालबालिका हाम्रै बझाङ र बाजुरामा देख्नु पर्ने थिए ।

यो प्रशंगलाई सोझै २५० वर्षभन्दा अगाडिका एक राजाको महानवाणीसँग जोड्नु उपयुक्त हुन्छ । ती राजाले आफ्नो दिव्य उपदेशमा आधुनिक युगका अर्थशास्त्रीहरुले अर्थशास्त्रका मोटा ठेली पढेर पाएको ज्ञान अन्तरनिहीत छ ।

त्यो वाणीको एक अंश यस्तो छ, ‘षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानी चलाउनु । गह्रो बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बर्ना आवाद गर्नु ।’

राजा पृथ्वीनारायाण शाहको दिव्य उपदेशको एक अंश हो भयो । आधुनिक नेपालका अर्थविद र योजनाविद्हरुको मूल नीति ३ सय वर्ष पुराना राजा पृथ्वीनारायण शाहको दिव्य उपदेशबाट बाहिर छैन । पृथ्वीनारायण शाहका दिव्य उपदेशमा भएका आर्थिक नीति हामीले अनुशरण गर्न नसक्दा अहिले हामी सबै स्रोत साधन भएर पनि कंगाल भएका छौं । खेतियोग्य जमिनमा प्लटिङ गरिरहेका छौं ।

खानी भएको ठाउँमा गाउँ भए पनि हटाएर खानी चलाउनु भन्ने उपदेश र बुढीगञ्डकी जलविद्युत आयोजना निर्माणकालागि धेरैवटा गाउँ खाली गरिएको घटना जसरी पनि आपसमा सम्बन्धित छैन त ?

राजाले न्याय निसाफ राम्रो गर्नु । घूस नखानु नदिनू, लिने दिन राष्ट्रका महासत्रू हुन् भन्ने ज्ञान आज होइन तीन सय वर्ष अघि नै पृथ्वीनारायण शाहले छाडेर गएका थिए । त्यो ज्ञान मनन गर्न नसक्ने नेताहरुकै बुद्धीले लोकमान प्रकरण मच्चियो । एमालेका नेता माधवकुमार नेपालले त लोकमान प्रकरणमा गल्ति भएको स्वीकार पनि गरे ।

न्याय, आर्थिक नीति, परराष्ट्र नीति अहिले पनि उस्तै छन् । जुन बडामहाराजाधिराज पृथ्वीनारायण शाहले उल्लेख गरेका थिए । दक्षिणको शासक महाचतूर छ उनले भनेका थिए । पहिले अंग्रेज महाचतूर थिए । त्यो बेला फौजी आक्रमणबाटै राज्य जित्ने गरिन्थ्यो । त्यो बेलाको विश्वमा त्यही चलेको थियो । त्यस्तो बेलामा अंग्रेजबाट जोगाएको मुलुकमा अहिले के भइरहेको छ ? अहिले हामी आफै झगडा गरिरहेका छौं ।

खुकुरी , भाला, तरबारले जोडेको र जोगाएको मुलुक अहिले रहला कि नरहला भन्ने अवस्थामा पुगेको छ । यसमा के बडामहाराजाधिराज पृथ्वीनारायण शाह दोषी हुन् ? कि आफूलाइ जनताको मसिहा ठान्नेहरु ?

हिमाल पहाड र तराइबीचको फाटो ल्याउने राजाहरु थिएनन् । उनीहरुले त नेपालाई चार वर्ण छत्तीस जातको साझा फूलबारी भनेका थिए । जसबाट सामाजिक सद्भाव कायम गरिएको थियो । नेवार, तामाङ, मगर, बाहुन एकै गाउँमा पहिले पनि बस्थे, अहिले पनि बस्छन् । विवाद कतै थिएन । जात अनुशार नै ‘नेवार कान्छो’, ‘मगर माइलो’ भनेर पनि गाउँघरमा सम्बोधन गरिन्थ्यो । नेपाली समाजले सद्भावले लिने जातमा अहिले राजनीतिको रंग मिसिएको छ । जात भन्दा होच्याएको वा अपमान गरेको ठहरिने हो कि भन्ने डर छ ।

एक दूरदर्शी राजा जसले मुलुक जोडे, जातजाति जोडे, अंग्रेजबाट मुलुक जोगाए ति राजालाई सम्झन आजको सरकारलाई टाउको दुखाइ भएको छ । सरकारमा रहेका मानिसहरु कुनै दिव्य पुरुषहरु होइनन् । यीनीहरु सत्ताका अस्थाइ प्रतिनिधि हुन् । जसलाई अहिले त विदेशीले कुर्सीमा राखिदिएको भन्ने पनि गरिन्छ । उनीहरुले बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई नसम्झदैमा केही फरक पर्दैन । यो देशको इतिहास सम्झन सक्ने लायकका जनता भइसकेका छन् ।

सरकारले पृथ्वी जयन्ती नमनाए पनि हुन्छ् । गान्धी जयन्ती मनाए पनि हुन्छ । पृथ्वी जयन्ती मनाउन हामी जनता नै काफी छौं ।

(लेखिका विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकी महासचिव हुन् ।)

Prithivi Jayanti

विशेष