खेल

रोनाल्डो बने उत्कृष्ट वर्षखेलाडी

रोनाल्डो बने उत्कृष्ट वर्षखेलाडी

पुस २६ – क्रिष्टियानो रोनाल्डोले विश्वको उत्कृष्ट खेलाडी अवार्ड जितेका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान प्रदान गरेको बेष्ट फिफा फुटबल अवार्डमा पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।

गएको महिना फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गरेको बालोन डी’ओर अवार्ड जितेका रोनाल्डोले अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र फ्रान्स तथा एथ्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै फिफा वर्ष खेलाडी बनेका हुन् । फिफाले यो वर्ष राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतको आधारमा वर्ष खेलाडी चयन गरेको हो ।

रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाएको फिफाले जनाएको छ । दोस्रो स्थानमा रहेका मेस्सीले २६ दशमलव ४२ तथा तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाए । यस्तै अमेरिकाकी कार्ली लोइड वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । अवार्ड जितेपछि रोनाल्डोले भने ‘यो वर्ष मेरो अहिलेसम्मकै उत्कृष्ट रह्यो । पोर्चुगलका लागि जितेको ट्रफी निकै उत्कृष्ट रह्यो । म खुशी छु र च्याम्पियन्स लिगको ट्रफी पनि म बिर्सन सक्दिन । समूहगत तथा व्यक्तिगत रुपमा अवार्ड जित्न पाउँदा म निकै खशी छु ।

विशेष