समाज

तारुका र बेत्रावतीमा अठ्ठाइस हल गोरु जुधाइने

तारुका र बेत्रावतीमा अठ्ठाइस हल गोरु जुधाइने
पुस - २६। माघे सङ्क्रान्तिको अवसर पारेर यस वर्ष नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा २८ हल गोरु जुधाइने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले यस वर्ष माघे सङ्क्रान्तिमा तारुकामा १८ र बेत्रावतीमा १० हल गोरु जुधाउन लागिएको जानकारी दिए । कार्यक्रममा नेकपा (एमाले), पर्यटन विभाग प्रमुख सूर्य थापाले परम्परागत रुपमा चल्दै आएको यस्ता पर्वलाई निरन्तरता दिन सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले भने, “पूर्वाधारको विकास भए मात्र पर्यटन क्षेत्रको विकास सम्भव छ । ” नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्रप्रसाद सापकोटाले नेपालको सांस्कृतिक क्षेत्रलाई पर्यटनका रुपमा विकास गर्न पर्यटन बोर्ड लागिरहेको स्पष्ट पारे । तारुका माघे सङ्क्रान्ति गोरुजुधाइ समितिका संयोजक दीपेश शाक्यले लम्बाइ, उचाइ, उमेर र मोटाइका आधारमा गोरुको छनोट गरिएको जानकारी दिए । उनले गोरु जुधाइका क्रममा मरिहाल्यो भने रु ३० हजार दिने व्यवस्था समितिले मिलाएको स्पष्ट पारे। रसुवा बेत्रावती गोसाइँकुण्ड युवा क्लबका सचिव गणेश श्रेष्ठले नुवाकोटदेखि बेत्रावतीमा गोरु लगेर जुधाउने गरेकामा गोरु घाइते भएको खण्डमा रु १० हजार र मरेमा २५ हजारको व्यवस्था मिलाएको जानकारी दिए । रसुवा–नुवाकोट पर्यटन समाजका उपाध्यक्ष शिव लामिछाने, महासचिव शिव अधिकारी, पर्यटन व्यवसायी दीपक महतलगायतले परम्परागत रुपमा मनाउँदै आएको गोरुजुधाइँ मेलालाई पर्यटकीय आकर्षकको केन्द्र बनाउनुपर्नेमा जोड दिएका थिए । प्रचारप्रसार उपसमितिका संयोजक विष्णु तारुकाले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नमा गोरुजुधाइ राम्रो अवसर रहेकाे बताए । नुवाकोट र रसुवाका किसानले माघेसङ्क्रान्तिमा गोरु जुधाउनका लागि असार, साउनदेखि नै गोरुलाई विशेष हेरचाहका साथ पाल्ने गर्छन् । करिब दुई सय वर्षअघि बझाङी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आउँदा भान्जाको मनोरञ्जनका लागि गोरु जुधाएको स्मरणमा बर्सेनि माघेसङ्क्रान्तिमा तारुका गोरु जुधाइ हुने गरेको भनाइ छ ।

गोरु जुधाइ नुवाकोट

विशेष