समाज

उर्जामन्त्रीले झुट बोले, २ महिनासम्म पनि भएन कार्यान्वयन

उर्जामन्त्रीले झुट बोले, २ महिनासम्म पनि भएन कार्यान्वयन

पुस २७। काठमाण्डौंको बुद्धनगरमा रहेको नलसिङ गाड जलविद्युत आयोजनाको केन्द्रिय कार्यालय जिल्लामै स्थापना गर्नु पर्ने उर्जामन्त्री जनार्दन शर्माले बोलेको कुरा दुई महिना बित्दा पनि कार्यन्वयन हुन सकिरहेको छैन ।

नलसिङ गाड जलविद्युत आयोजनाले गत कार्तिक २१ गते खगेनकोटको दल्लीमा आयोजना गरेको एक कार्यक्रमलाई सम्वोधन गर्दै उर्जा मन्त्री जनार्दन शर्माले १५ दिन भित्र आयोजनाको केन्द्रिय कार्यालय जिल्लामै स्थापना गर्न आयोजना प्रमुखलाई निर्देशन गरेका थिए तर, निर्देशन गरेको दुई महिना वितिसकेको छ, आयोजनाको मुख्य कार्यालय काठमाण्डौंको बुद्धनगरमै रहेको छ ।

मन्त्रीले खगेनकोटको दल्लीमा बोलेको कुरा कार्यन्वयन हुनामा ढिलाई भएता पनि कार्यन्वयन भएरै छाड्ने उर्जा मन्त्री जनार्दन शर्माका स्वकीय सचिव बसन्त शर्माले टेलिफोन मार्फत बताए । राष्ट्रिय गौरवको नलसिङ गाड जलविद्युत आयोजनाको मुख्य कार्यालय जाजरकोटमै राखेर आयोजना सम्बन्धि सम्पुर्ण कामहरु जिल्लावाटै अगाडि बढाउनु पर्नेमा उर्जामन्त्रीका स्वकीय सचिव बसन्त शर्माले जोड दिए । आयोजनाको निर्माण कार्यलाई गति दिन उर्जा मन्त्रीले पवित्र चहाना राखेर गरेको निर्देशनलाई नमान्ने अटेरी कर्मचारीहरु पनि उत्तिकै भएको स्वकीय सचिव शर्माले खुलासा गरे ।

उर्जा मन्त्री देशलाई नै लोसडिङ्ग मुक्त बनाउने अभियानमा जुटिरहेको बताउदै स्वकीय सचिव शर्माले भने–“ नलसिङ गाड जलविद्युत आयोजनाको केन्द्रिय कार्यालय जाजरकोटमै स्थापना गरेमा फिल्ड भत्ता, टिएडिएवाट बन्चित हुने मनसाय राख्ने कर्मचारीहरुले आनाकानी गरि रहेका छन् ।” आयोजनाको मुख्य कार्यालय जिल्लामै राखेर सम्पुर्ण प्राबिधीकहरु जिल्लामै रहेर काम गर्नु पर्ने स्वकीय सचिव शर्माले वताए । सम्पर्क कार्यालय काठमाण्डौंमै राखेर आयोजनासंग सम्बन्धित कामहरु गर्नलाई आयोजना प्रमुख काठमाण्डौंमै बस्न सकिने शर्माको भनाई रहेको छ । उता आयोजनाको मुख्य कार्यालय जाजरकोटमै राख्नलाई कानुनी व्यबस्था नभएको नलसिङ गाड जलविद्युत आयोजनाका कार्यकारी निर्देशक मोतीबहादुर कँुवरले वताए ।

आयोजनाको नीतिगत कामहरु काठमाण्डौंवाटै गर्नु पर्ने भएको हुदा काठमाण्डौंमा रहेको मुख्य कार्यालयलाई जिल्लामा लिन नसकिने कार्यकारी निर्देशक कँुवरको भनाई रहेको छ । मन्त्रीको आदेश अनुसारनै आयोजनाको कामलाई अगाडी बढाई रहेको वताउदै कार्यकारी निर्देशक कँुवरले भने–“उपसचिव सरहका दुई जना ईन्जिनियरलाई सधै भरि फिल्डमै रहने गरि परिचालन गरिएको छ ।” बेला–बेलामा बिकास समितिका अध्यक्ष लगाएतका बोर्ड सदस्यहरु र स्वयममा आफु पनि फिल्डमा जान, आउने गरि रहेका छौं, कुवरले भने–“आयोजनाको कामलाई युद्ध स्तरमा अगाडि बढाई रहेका छौं ।” आयोजनाको लागि चाहिने झण्डै ६ हजार रोपनी जग्गालाई यसै बर्ष अधिकरण गर्नका लागि भक्खरै बसेको आयोजना बिकास समितिको बैठकले तत्कालै देखि जग्गा किनबेच गर्न नपाउने गरि रोक लगाउने निर्णय गरिसकेको कार्यकारी निर्देशक कुंवरले जानकारी दिए ।

त्यसैगरी आयोजना विस्तृत अध्ययन प्रतिबेदन (डिपीआर)को काम पनि युद्धस्तरमै अगाडि बढिरहेको निर्देशक कँुवरले बताए । आगामी २८ महिना भित्रै आयोजना विस्तृत अध्ययन प्रतिबेदन (डिपीआर)को काम पुरा हुने कँुवरले जिक्किर गरे । आयोजना निर्माणका लागि रग्दा गाविसको ताँसुगाडवाट ४ दशमलव ५ मेघावाटको सर्पोट जलविद्युत आयोजना निर्माण कार्यलाई पनि यसैबर्ष देखि सुरुवात गर्ने कँुवरले वताएका छन् । ताँसुगाड जलविद्युत आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको वताईएको छ । उक्त आयोजनाको निर्माण कार्य अगाडी वढाउनका लागि यसैवर्ष टेण्डर खोलिने नलसिंगाड जलविद्युत आयोजनाले वताएको छ ।

आयोजनाको पावर हाउस देखि ड्याम स्थल (कालीमाटी देखि लैखम) सम्म १०.८ किलोमिटर पहँुच मार्ग निर्माणको लागि निर्माण कम्पनीसंग सम्झौता गरी निर्माण कार्य अगाडी वढीरहेको छ भने, आयोजना कार्यालय प्रयोजनका लागि दल्लीमा दुईवटा भवन निर्माणको लागि निर्माण कम्पनीसंग सम्झौता भई निर्माण कार्य अगाडी वढी रहेको आयोजनाले वताएको छ । त्यसैगरी आयोजनाले ५ किलो मिटर दल्ली देखी सर्ज ट्याङक सम्मको पहुँच सड्कको ट्रयाक खोली सकेको छ भने, कालिमाटी–खानटाकुरा हुदै ध्यापाटाकुरा जोड्ने आयोजनाको वैकल्पिक मार्गको ट्रयाक खोल्ने काम अगाडि बढीरहेको छ ।

५ सय ३१ रोपनी जग्गा अधिकरण गरी सकेको आयोजनाले वताएको छ । उता उर्जामन्त्री जनार्दन शर्माका अनुसार आयोजनालाई कर्मचारीहरु भर्ती गर्ने भर्ती केन्द्रवाट मुक्त गर्न र जनताको अग्राधिकारलाई सुनिश्चित गर्न बिकास समितिवाट नभएर कम्पनी ऐन अनुसार लगानी बोर्डद्धारा निर्माण गर्न मन्त्री परिषदवाट निर्णय भईसकेको बताएका छन् । जनताकै लगानीमा आयोजनाको निर्माण कार्य सम्पन्न गर्नु पर्ने र आयोजनावाट प्राप्त हुने लाभाम्स पनि जनताकै हुनु पर्ने मन्त्री शर्माको बुझाई रहेको छ ।

४ सय १० मेघावाट विद्युत उत्पादन क्षमता भएको नलसिङ गाड जल बिद्युत आयोजना देशकै ९३ वटा जलासययुक्त जलविद्युत आयोजनाहरु मध्येकै उत्कृष्ट आयोजनाका रुपमा मानिदै आएको छ । आयोजना निर्माण गर्दा ५ सय ६८ घरधुरी विस्थापित हुनुको साथै ६ हजार रोपनी खेती योग्य जमिन अधिकरण गर्नु पर्ने वताइएको छ । करिव ३ सय १४ हेक्टर कृषि योग्य जमिन र २ सय ९० हेक्टर वनजन्य जमिनको क्षेति हुने वताएको छ ।

समुद्रि सतह देखि १३ सय ८० मिटरको उचाईमा रहेको सक्ला गाविसको हुल्याओडारमा बाँधिने वाँधको उचाई १६ सय २० मिटरमा पुग्ने वताईएको छ । आयोजनाको निर्माण कार्य पुरा गर्नलाई ७३ अरब ७३ करोड ९० लाख रुपैयाको लागत लाग्ने अनुमान गरिएको छ । केन्द्रिय बिद्युत लाईन नपुगेको जाजरकोट सदरमुकाम खलंगामा आगामी माघ १५ गते भित्रै केन्द्रिय बिद्युत लाईन पुर्याई छाड्ने उर्जामन्त्री जनार्दन शर्माले वताएका छन् । जिल्लामा हाल केन्द्रिय बिद्युत लाईन प्रसारणको काम अगाडी बढी रहेको छ ।

विशेष