खेल

रुस्लान कप क्रिकेट : केसिटिसी र रोयल पिसी विजयी

रुस्लान कप क्रिकेट : केसिटिसी र रोयल पिसी विजयी

पुस - २७ । दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा केसिटिसी र रोयल पिसी फाइटर विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा भएको पहिलो खेलमा केसिटिसीले क्यानन क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै विजयी भएको हो । त्यस्तै पिसी फाइटरले खहरी क्रिकेट क्लब, धादिङलाई ६ विकेटले हराउँदै विजयी भएको हो ।

 

क्याननले दिएको ११२ रनको चुनौतीलाई केसिटिसीले १५ ओभरमा नै भेट्टायो । केसिटिसीले १५ ओभरमा ३ विकेट गुमाउँदै ११४ रन जोडेको थियो । केसिटिसीका ब्याट्सम्यान सञ्जय बस्नेतले अविजित ४२ रनको योगदान दिए । त्यसैगरी आदिल खानले १३, विपीन आचार्य, सुमित मर्हजन तथा विवेक रानामगरले समान ११-११ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्याननले खेलेको निर्धारित २० ओभर पूरै खेल्दै ५ विकेटको क्षतिमा १११ रनको योगफल बनाएको थियो । क्याननका ब्याट्सम्यान सुमन ठाकुरले ३८, भुवन बस्नेतले १५ तथा अजयकुमार ठाकुरले १३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

 

त्यसैगरी खहरी क्रिकेट क्लबले दिएको ११६ रनको चुनौतीलाई पिसी फाइटरले १२ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । पिसी फाइटरका ब्याट्सम्यान रविन जोशीले अविजित ५३ रन जोडे भने विजय सुनुवारले २९ तथा दानबहादुर कार्कीले २३ रनको योगदान दिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको खहरीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११५ रन जोडेको थियो । खहरीका ब्याट्सम्यान अमृत थापाले २६, अनिल थापाले २३ तथा कृष्ण अधिकारीले २० रन जोडे ।

रुस्लान कप क्रिकेट

विशेष