समाज

दाम्लोबाट छुटेपछि वाइबाको फेरियो जीवन

दाम्लोबाट छुटेपछि वाइबाको फेरियो जीवन

पुस - २८ । चम्किलो अनुहार, पुष्ट शरीर । गुहु र मुतमा डुब्नुपरेको छैन । जीवन फेरिएको छ । राम्रो हेरचाह पाएका छन् । दिसापिसाब समयमै गराइन्छ । औषधोपचार नियमित छ । बोल्न र हिँड्न सक्तैनन् । तर उनको अनुहारमा चमक छ । उनी खुसी छन् । अनुहारले त्यही बताउँछ । दाम्लोबाट छुटकारा पाएपछिको जीवन आफैंमा नौलो हो । असार २२ गते उनको खुट्टाबाट दाम्लो फुकाइयो । दाम्लो फुक्दै गर्दा छिमेकी मायाँ वाइबाले भनेकी थिइन् – ‘उनलाई अब भने दिसापिसाबमा डुवेको देख्नुपर्दैन ।’ अहिले त्यो चरितार्थ भएको छ । आगन्तुक देखेर उनी हात हल्लाउँछन्, हाँस्छन् । हाउभाउले केही भन्न खोजे जस्तो गर्छन् । साँच्चै फेरिएका छन्, १५ वर्षका अनुत वाइबा । मोटाएका छन् । ह्वील चियरमा हिँड्डुल गर्छन् । उनको रेखदेखमा खटिन्छन् युवाहरु, अनि गुहु मुत सोहोरिदिन्छन् । कति अस्पताल लैजाँदा पनि उनको उपचार सम्भव नभएको उनका रेखदेखकर्ता उमेश तामाङ बताउँछन् । अब अपाङ्ग नै रहने भएपनि आफ्नै घरमा जस्तो पीडा झेल्नुपरेको छैन उनलाई । ‘दाम्लोबाट छुटकारा पाउँदा, अनि गुहु र मुतमा डुव्नु नपरेको देख्दा र सुन्दा साह्रै मन खुसी छ,’ काठमाडौंकी सिर्जना थपलिया भन्छिन् । यस्ता असहायको केही सहयोग गर्ने सोच बनाएको उनले बताइन् । यस अघि उनको बास थियो टिनको छानोको थोत्रो घर । चिसो भुईंमा राखिएको थोत्रो सुकुल । दुर्गन्धित ठाउँ । त्यसमाथि लडिरहेका कुपोषित बालक वाइबाको बायाँ खुट्टाको गोलीगाँठो नजिक दाम्लो लगाइएको हुन्थ्यो । सधैं गुहु र मुतको आहालमा उनी डुबिरहन्थे । चितवनको रत्ननगर वडा नम्बर १५ स्थित माधवपुरमा झण्डै एक बर्षदेखि दाम्लोमा बाँधिँदै आएका उनी अहिले १५ वर्षका भए । एनआरएनएका केन्द्रीय सदस्य एवम् डेनमार्कका लागि नेपाल पर्यटन बोर्डका मानार्थ जनप्रतिनिधि सोमनाथ सापकोटा वाइबा दाम्लोमा हुँदा र अहिले फेरिएको देख्दा मन आनन्दित भएको बताउँछन् । उनकै पहलमा चितवनको रत्ननगरका वाइबालाई दाम्लोबाट छुटाइएको हो । अहिले स्वास्थ्योपचार र पालनपोषण अपाङ्ग बाल तथा वृद्ध सेवा गृह काठमाडौँले गरिरहेको छ । चावहिलबाट साँखु जाने बाटोबाट झण्डै १५ किलोमिटर हिँडेपछि आउने काठमाडौँ शंकरापुर नगरपालिका वडा नम्बर १० सलंबुटार साँखुमा रहेको उक्त गृहमा अनुतलाई भेट्न सकिन्छ । द्वन्द्वपीडित तथा अपाङ्ग समाजद्वारा सञ्चालित यो गृहमा उनीसँगै अन्य ४१ जना असहायहरुले आश्रय लिइरहेका छन् । आफैं अपाङ्ग भएर बसेका युवराज थापाको नेतृत्वको समूहले यस्ता असहायको रेखदेख गर्ने गरेको छ । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारी र तत्कालीन चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहको पहलमा उनलाई गएको असार २२ गते उद्धार गरेर काठमाडौँ पठाइएका थियो ।
नारायण ढुंगाना

nitun waiba जीवन

विशेष