देश

नेपालगन्ज उपमहानगरपालिका नगर परिषद्

नेपालगन्ज उपमहानगरपालिका नगर परिषद्
पुस - २८ । नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि अनुमानित रु एक अर्ब ३१ करोड ३४ लाख ८९ हजार बजेट प्रस्तुत गरेको छ । सो नगरपालिकाको बिहीबार बसेको २५औँ नगरपरिषद् बैठकले प्रस्तुत गरेको कुल बजेटमध्ये चालु खर्चतर्फ रु १६ करोड ११ लाख र पुँजीगत खर्चतर्फ रु एक अर्ब १५ करोड २३ लाख छुट्याइएको छ । बैठकमा प्रस्तुत गरिएको वार्षिक बजेट तथा नीति तथा कार्यक्रममा एसियाली विकास बैंकको आर्थिक ऋण सहयोगमा सञ्चालित एकीकृत सहरी विकास परियोजनालाई प्राथमिकतामा राखिएको छ । नगर प्रमुख गिरिराज ज्ञवालीका अनुसार, परिषद्को बजेट र नीति तथा कार्यक्रमले नगरपालिकामा भौतिक पूर्वाधार निर्माण, पर्यटनको पूर्वाधार, वातावरणमैत्री स्थानीय शासन, बालमैत्री नगरपालिका अभियान, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण र संस्थागत क्षमता विकास तथा सुशासनलाई प्राथमिकतामा राखेको छ । त्यसैगरी, विपत् व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, धर्म संस्कृति, शिक्षा स्वास्थ्य तथा खेलकुद, कृषि तथा पशु, गैरसरकारी सेवा व्यवस्थापन, बजार व्यवस्थापन, योजना कार्यान्वयन अनुगमन तथा मूल्याङ्कनलाई पनि नीति तथा कार्यक्रमभित्र समेटिएको छ । प्रस्तुत बजेट, नीति तथा कार्यक्रमले दुई तिहाइ करदातालाई करको दायरामा ल्याउनु, सहरी क्षेत्र विकासका लागि सडक क्षेत्र खाली गराउन, सीमित साधन स्रोतको परिचालन, सहर सफा तथा हराभरा बनाउने कार्यलाई चुनौतीका रुपमा औँल्याएको छ । सो परिषद् बैठकको सांसद दिनेश यादवले उद्घाटन गर्दै सबै नगरवासीको सहयोग लिएर कडाइका साथ नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने सुझाव दिए । त्यस अवसरमा बाँकेका प्रजिअ रविलाल पन्थ, स्थानीय विकास अधिकारी हरि प्याकुरेल र नेपाली काँग्रेसका अध्यक्ष किरण कोइरालाले कार्यक्रम तथा योजनाको कार्यान्वयन चुनौतीपूर्ण भए पनि हरेस खान नहुने धारणा राखे ।

nepalgunj

विशेष