देश

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ सुरु

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ सुरु
पुस - २८ । कृषिलाई नाफामुखी व्यवसायका रुपमा विकास गरी रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले सरकारले सुरु गरेको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’ तेह्रथुममा पनि सुरु भएको छ । चालु आर्थिक वर्षदेखि १० वर्षसम्म सो परियोजना सञ्चालन हुने छ । प्रारम्भिक चरणमा अलैँची, अदुवा, सुन्तला, तरकारी, मकै, धान र आलु खेतीका लागि २० वटा पकेट क्षेत्र र दुई वटा ब्लकमा सो परियोजना लागू भएको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमले जनाएको छ । कार्यालयले परियोजनाका वारेमा सरोकारवालालाई अभिमुखीकरण कार्यक्रम आयोजना गरी जानकारी गराइएको छ । परियोजनाअन्तर्गत चालु आवमा जिल्लामा कुल रु दुई करोड ११ लाख २८ हजार बजेट विनियोजन गरिएको कार्यालयले जनाएको छ । हरेक पकेट क्षेत्र अर्थात् साना व्यावसायिक कृषि उत्पादन केन्द्र १० हेक्टर क्षेत्रफलको हुनेछ । यस्तै ब्लक अर्थात् व्यावसायिक कृषि उत्पादन केन्द्र १५० हेक्टर क्षेत्रफलमा सञ्चालन हुने प्रावधान रहेको जिल्ला कृषि विकास कार्यालय तेह्रथुमका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले जानकारी दिए । स्वदेशी सोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट सञ्चालित परियोजनाले पकेट क्षेत्रमा कृषि वस्तुको प्राथमिक उत्पादनका लागि नवीनतम् कृषि प्रविधिको प्रसार तथा ब्लकमा कृषि उद्यम विकास, उत्पादकत्व वृद्धिलगायत क्षेत्रमा काम गर्नेछ ।

‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’

विशेष